काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद् महेश बस्नेतले प्रतिनिधि सभा पुनर्स्थापनालाई ओलीको एक गोल पोलमा लागेरको फर्किएको रूपमा चित्रित गरेका छन्।
प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको विषयमा टिप्पणी गर्दै उनले भनेका छन्, 'एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस्।'
उनले अदालतको फैसला अनपेक्षित भएपनि स्वीकार गरिने बताए। २०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद् विघटनले देश एक दशकसम्म अस्थिरतामा फसेको बताएका छन्। त्यसैले अब ओलीले सुझबुझ कदम चाल्नुपर्ने उनको भनाइ छ।
'सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता केपी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। विभाजनकारीहरूलाई एकताको प्रक्रियामा फर्काउनुहोस्। पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिँडाउनु होस्। राजनीतिलाई विकृति र विसंगतिमुक्त बनाउनुहोस्।हामी सबैको सशक्त र दह्रो समर्थन तपाईंलाई रहनेछ,' उनले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।