काठमाडौं- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै सभामुख सापकोटाले सर्वोच्चको फैसलाले संविधानवादको जित भएको बताएका हुन्।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरूको शक्ति पृथकीकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको उनको भनाइ छ।
'सर्वोच्चको आजको फैसलाले समस्त नेपाली जनताको जित भएको छ। संविधानवादको जित भएको छ र नेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ। समग्रमा भन्नुपर्दा यसले एउटा नयाँ आयाम खडा भएको छ। साथै यसले लोकतन्त्रको विकास विस्तार र सुदृढीकरणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ,' उनले भने, 'फैसलाको प्रारम्भिक अध्ययन गर्दा राज्यका महत्वपूर्ण अंगहरूको शक्ति पृथकीकरण र भूमिकाको बारेमा स्पष्ट मार्ग निर्देश गरेको छ। पुस ५ गतेदेखि आजको दिनसम्म बहसको बीचबाट यसले संविधानको रक्षा मात्रै होइन विकास र समृद्धि गर्नुको साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको छ। सभामुखको हैसियतले म के भन्न चाहन्छु भने मैले सपथ लिएकै दिन संसदलाई जीवन्त र जनमुखी बनाउने भनेर संकल्प गरेको थिए। त्यो संकल्प पूरा गर्नका लागि आधारशिला खडा भएको छ।'
सर्वोच्चको संवैधानिक इजलासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो। फैसलामा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।