नखानेलाई अण्डा, भोकालाई टमाटर
हामी कक्षा ९ का विद्यार्थी जाँचको मुखमा पनि योजनबद्ध ढंगले अर्कै बिषयमा छलफल गर्न थाल्यौं। सबैले पहिला एउटै स्वरमा हल्ला गरे, ‘अर्को साल को कहाँ, को कहाँ पुगिन्छ। त्यसपछि त लगातार पढ्नु परिहाल्छ। त्यसैले अहिले जाँच सकिनासाथ पिकनिक जानुपर्छ। ’
‘पिकनिकको आयोजना अखिलले गर्नेछ र म त्यसको संयोजन गर्छु। जान चाहीँ सबैले पाउँछन्।’ कक्षामा रामेले प्रस्ताव गर्यो। तर उसको प्रस्तावलाई पिकनिकका लागि हौस्याउने विनोद सरले नै अस्वीकार गरिदिए। उनको तर्क थियो, ‘भोलि इतिहास बन्ने कुरामा सबैलाई समेट्नु पर्छ।’
‘सस्तोमा जाने, घरबाट दुध लाने अनि खीरसिर पकाएर थोरै चिज खाएर धेरै रमाइलो गर्ने है।’ एउटा अर्को प्रस्ताव आयो।
‘गइ सकेपछि फोटो खिच्ने मान्छे, नाचगानका सामान पनि नलिइ के जानु? जाओ तिमीहरू नै, हामी केटीपाटी त नजाने।’ सरस्वतीले भनिन्। उनको समूहको अपेक्षा अलिक ठूलै रहेको बुझिन्थ्यो। केटीहरूले जान नचाहेको र हामीलाई लाने भए ‘यसो यसो गर’ भन्ने शर्तले नै पिकनिक केटापाटीको मात्रै हुने लक्षण देखिँदैथ्यो। धेरै दिन गम्भीर बहस गरिएपछि एक दिन विनोद सरकै अगुवाइमा एउटा निश्कर्ष निस्कियो, ‘मंसीर दोस्रो साता कक्षाका सबै ७० जना गाडीमा पिकनिक जाने, सप्तकोशी, इलाम या माई किनार। तर खर्च चाहीँ प्रतिब्यक्ति ५० रुपैयाँ जति लाग्छ।’
‘हामी गत बर्ष पाँच रुपैयाँ उठाएर पनि बक्राहा खोला किनारमा पिकनिक गएका थियौं। आबुई पचास रुपैयाँ पो?’ मेरो मनमा अचानक यो सन्दर्भ उठ्यो।
‘कहाँबाट ल्याउनु त्यति धेरै पैसा सर?’ केटीहरूले नै प्रश्न गरे।
‘यो जीवन र यसका सम्झनाहरू फेरि फेरि पाइँदैनन्। पेवा बेच, बाख्रा, कुखुरा, आमा, मामा कतै माग। अनि पैसा हुने साथीभाइले नहुनेलाई १०–२० रुपैयाँ थपिदेऊ। पछि बिस्तारै तिर्नू।’ हिसाब पढाउने विनोद सरले पिकनिकको हिसाब नै निकालेर दिएपछि सबै सहमत भए। विद्यार्थीहरू यिनका फ्यान जस्तै हुनु र यिनी पनि साथीझैं घुलमिल भएकैले पिकनिक तय भएको थियो।
अब हाम्रो तयारी जाँच भन्दा बढी पिकनिकका लागि हुनथाल्यो। त्यसो त एकदम अपवाद बाहेक नौ कक्षामा विद्यार्थी फेल हुँदैनथे। तैपनि हामी भने गाडी कत्रो? खाने के के? किन्ने कसले? पकाउने कसले? जस्ता ससाना कुरामा बढी चासो दिइरहेका थियौं। परीक्षा सकिएपछि र रिजल्ट आउनुअघि हाम्रो पिकनिक तोकिएको थियो। सल्लाहकार राखेका थियौं उनै शिक्षक विनोद सुब्बा र संयोजक शिव निरौला। रामे चाहीँ अखिल आयोजक नहुने भएपछि पिकनिक गएन।
तरकारी, खसी, चामल, अन्य पकाउने सामान आदिका लागि एउटा हिरो साइकल घिसार्दै शिव गुड्न थालेको एक हप्ता भएको थियो। बेलाबेला आफूजस्तै खट्न नसक्दा अरूसँग रिसाउने बाहेक यिनको सक्रियता तारिफयोग्य थियो।
‘मैले केही गर्नु छ भने भन्नोस् है दाजु।’ मैले उनको धपेडी देखेर सोधेँ।
‘एउटा काम गर त। ऊ त्यो लिस्टमा नाम भएर पनि पैसा उठाउन बाँकी भएकालाई गाडीको टाएम बताउँदै पैसा उठाएर आऊ। मैले आमासँग हजार रुपैयाँ मागेर हालेको छु अहिलेसम्म सामान किन्नका लागि।’
म पनि साइकल घिसार्दै दौडिइहालेँ। कक्षाका सबै साथीको घर चिन्न सक्ने अवस्था थिएन। तर, एउटाको चिनेपछि उसमार्फत् अर्को र उसमार्फत अझ अर्कोको चिनिने रहेछ, स्नोबलिङ् मेथड। एक दिनमा करिब पच्चीस जनाको घर पुगेर तिनको जाने नजाने निश्चितता वा पैसा लिएर आएपछि साँझ शिवकै घर पुगेर पैसा बुझाएँ। भोलिपल्ट शशी खँड्कालाई पनि उनले अर्को साइकल दिएर अर्कोतिर दौडाए। साँझ लगभग सबैको बिवरण वा पैसा जम्मा भएको थाहा पाएपछि अर्को दिन चाहीँ अर्कै कामका लागि दौडिनुपर्यो। मैले चाहीँ हजुरआमासँग बीस रुपैयाँ मागेँ, बीस आफैंसँग भएको लगाएँ र बाँकी दश रुपैयाँ शिवलाई हाल्न लगाएर खर्च जम्मा गरेको थिएँ।
पिकनिकको दिन म निकै हौसिएको थिएँ। मन एकदमै रोमान्चित भएको थियो। म पूरै रमाइलोको मुडमा थिएँ।
‘यो हाम्रो अन्तिम भोज हो। यसपछि पृथ्वीका सबैथोक मासिनेछन्। भोलि बिहान सूर्योदय नहुँदै यो पृथ्वी टुक्राटुक्रा हुनेछ।’ मैले अन्तिम भोज कथाको सार आफ्नै पारामा सुनाएँ। गाडी हिँडाउने समयमा मैले साथीहरूतिर फर्किएर यसो भनेको थिएँ। यो एउटा फगत उट्पट्यांङ मात्र थियो। तर, मेरो यो मजाक धेरैले नबुझ्दा मैले झण्डै बबाल गरेको रहेँछु।
‘ओइ, हिँड्ने बेलामा के अलच्छिन लाएको? म त जान्न पिकनिक सिकनिक।’ इन्दिरा साँच्चै फर्किन लागिन्, गाडीबाट ओर्लिइन्। उनीजस्तै कक्षाका अरू दिदीहरू आएर मलाई गाली गर्न थाले। हेरेँ, दुर्गा ओठ निचोरेजस्तो भएकी छन्। त्यसै त जाडो, त्यसमाथि झन् मेरो ‘साहित्य’ को कुप्रभाव। म कक्षामा सबैभन्दा सानो र सबैको भाइ थिएँ। र, यस्ता खालका उट्पट्याङ्मा चाहीँ सधैं अगाडि। पार्वती आइन् र मसँग सोधिन्, ‘तिमीले सपनामा देखेको कि के?’ सोचेँ अब परिस्थितिले गम्भीर मोड लिँदैछ।
‘यहाँ के भो हौ?’ विनोद सर आइपुगे। ठीक्क यही समयमा मैले आफ्नो कुरा राखिहाल्नु उचित सम्झिएँ। सरलाई भनेँ, ‘सर, मैले एउटा साहित्य सुनाएको, दिदीहरू त नजाने पो अरे।’
‘धैट् पिन्चीहरू। तिमारु छुट्यौ भने जीवनभर सम्झेर दुःख पाउँछौ है, हौ। ल को को नजाने?’
‘इन्दिरा, उषा, पार्वती, दुर्गा, तारा....सप्पै दिदीहरू रे !’
‘ल, हिँड भित्र। आज पिकनिक गएन भने त बिहे नै हुँदैन तिर्मेको पछि। भइहाल्यो भने पनि बूढो पोइ पाउँछौ। स्वस्थानीको के शर्मा अरे? त्यही बूढोजस्तो।’
खितितिती हाँसे केटी पाटीहरू र बिस्तारै भित्र पसे। मैले युद्ध जितेको महसुस गरेँ। गाडी चल्नेबित्तिकै अगाडि खाल्डामा एउटा चक्का फस्यो। मैले दुर्गातिर हेरेर भनेँ, ‘आजको अन्तिम यो गाडी यसरी चक्का फसाएर यो सुनसान बाटोमा...।’ उनी मेरो साहित्यसँग दिक्क भएर सिट फेरेर बसिन्। उनको सीटमा आएकी थिइन् मैना। मैले उनलाई पनि साहित्य नै सुनाएँ, ‘यसरी वनभोजका लागि हिँडेका एक हुल विद्यार्थीलाई गाउँलेले बाटो हेरेर कुरिरहे, बर्षौंसम्म तिनीहरू फर्किएनन्। स्कुलबाट पनि त्यसपछि कोही पिकनिक गएनन्।’
‘ओइ के भनेको? त्यस्तो डरलाग्दो, अलच्छिनी।’
‘भरे पिकनिकमा सुनाउने साहित्य सम्झिएको नि। तपाईंका बारे पनि दुई शब्द है त?’ मैले फेरि आफ्नो ‘साहित्य’ जारी राखेँ, ‘र, आमाकी प्यारी कान्छीछोरी, जसका साथ आमा बसिरहेकी छन् र उनी आमाको एक मात्र सहारा हुन्, तिनले यसैगरी मेरो साहित्य सुनिन् भने कहिल्यै घर फर्किन्नन्, सदाका लागि हराउनेछिन्।’
‘सर, विनोद सर। ए शिव। यहाँ यसले हामी सबैको सराद्दे गरिसक्यो। हामी सबै मर्छौं रे। यसलाई नबोल्न भन्दिनुस् न।’
‘म नबोल्नका लागि यो गाडी पल्टिनुपर्छ। यो पल्टिएपछि म मात्र हैन, हामी सबै बोल्न नसक्ने गरी जान्छौं। र, अन्तिम भोजजस्तै हामी फेरि यो संसारमा कहिल्यै फर्किएर आउने छैनौं। यो धर्ती, यो आकाश, हाम्रो सम्झनामा सधैं....।’
हामी उर्लाबारी पुगेपछि गाडी पूर्व हानियो। अघिल्लो बर्ष राजाको सवारीका लागि बनाइएका ढल्दै गरेका दर्जनौं गेट पार गर्दै झापाको माई किनार पुग्दा दश बजेको थियो। त्यहाँ पुग्नेबित्तिकै महिला र अगुवाहरू पकाउन थाले। विनोद सर साइकल लिएर कतै साइड लागे। केही काम गर्न नआउने म घरी यता र घरी उता गरेर उट्पट्यांग गर्न ब्यस्त भएँ।
‘सुशीला दिदी, यो यादेको ससुराली यहीँ अगाडि त हो नि, खुट्टीडाँगीका मैनाली खलक। अस्ति उसको बिहेमा म पनि जन्ति आको थेँ।’ हामी सबैलाई पाउरोटी र चिया बनाइरहेको टीमकी सुशीलालाई छेउमै गएर मैले भनेको थिएँ।
‘कस्सम, आमा कस्सम सुशीला यसले ढाँटेको हो। मेरो बिहे भएको भए यही माई खोलाले मलाई बगाइहालून्, म घर पुग्नै नपाऊँ।’ यादेका आँखाबाट आँसु नै खस्ला जस्तो भयो। उसले मलाई फेरि सराप्न थाल्यो, ‘अर्काको नराम्रो सोच्ने तँ? तेरो बिहे नहोस्, तेरो स्वास्नी बोक्सी परोस्। दुनियाँले पनि तेरो बिगार्दै हिँडोस्। च्याने टुहुरा।’
‘ओइ, तँलाई यसरी सराप्दा पनि केही बोल्दैनस्? भन्दे न, के हो कुरो? कि यसरी साथी रिसाएर सराप्दा राम्रो लाग्छ?’ राजुले मलाई उकास्यो। अब मैले बोल्नै पर्छ भन्ने लाग्यो। सुशीला दिदीतिर फर्किएर भनेँ, ‘यसले सुशीला दिदीलाई ताकेको मन पर्दैन। त्यसैले यस्तो भन्दिएको मैले।’
सबै जना गलल हाँसे, सुशीला गम्भीर भइन्।
‘अनि सुशीलाले कोसँग बिहे गर्नु त अब?’ खगेले चिन्ता ब्यक्त गरेझैं बोल्यो। मेरो मुखबाट फुत्त फुस्कियो, ‘तिमी गर न त बरु चिन्ता लाग्छ भने।’
‘अब म तँलाई कुट्छु है भाइ। जे मन लाग्यो त्यही नभन त।’ सुशीलाले अब मसँग रिस पोख्न थालिन्।
‘जाऊ, जाऊ दिदी यादेसँगै जाऊ। तर, तिम्री दिदी चन्द्रकलाको बिहे नभइ घरबाट तिम्रो बिहे गरिदिँदैनन्। आजै यतैबाट पोइल जाऊ, टीका बडा बाको खर्च नि जोगाइ देऊ।’
‘ओइ शिव। यो कुमारेलाई यहाँबाट खेद् त। बिहानैदेखि जे पायो त्यही बोलिरहेको छ।’ दिदी चिच्याइन्।
‘ए शिव, यता आऊ न, यसलाई समात। अस्ति मलाई कुखुराको डिम्मा खाँदा सुली खायो भनेको थियो, आज कोच्याइदिऊँ।’ अलिक पर नेत्रेलाई चार जनाले समातेर लडाएका रहेछन्। भुवे र सीतारामले एक एकवटा खुट्टा समातेका थिए भने शशी र थलेले एक एकवटा हात। नेत्रेको जीऊको थोरै भाग मात्र जमीनमा थियो, ऊ अलिक अप्ठ्यारो गर्दै हाँसिरहेको थियो। शिवले एउटा तात्तातो डिम्मा छोडाए र उसको मुखमा कोच्याइदिए, आधा जति मुखमा पस्यो।
‘थुकिस् भने अरू एक दर्जन कोच्याइदिन्छु नि !’ शिवले चेतावनी दिँदै यति भनेपछि उसले डिम्मा निल्यो। शिवले बाँकी पनि कोच्याइदिए, सजिलैसँग खायो। पछिल्लोपल्ट डिम्मा हतारमा निलेको देखेर सबै हाँसे। त्यही बीचमा अर्को हाँसो भयो, नेत्रले जिस्किएको वा साँच्चै भनेको कसैले बुझ्नै सकेन। उसले शिवतिर हेरेर सोध्यो, ‘मलाई कोच्याउने भागमा अर्को डिम्मा पनि छ कि सकियो, शिवे? छ भने अर्को पनि कोच्याइ दे न हौ।’
विनोद सर पर फोटोग्राफरलाई लिएर साइकलमा फर्किइरहेका थिए। हामी खाजा खाएर पौडी खेल्न जाने तरखरमा थियौं। मैले यो जाडोमा पौडी खेल्न नसके पारी वस्ती सुरुंगातिर निस्किएर अलिकति घुम्ने योजना सुनाएको थिएँ। बिभिन्न समूह बनाएर केही थान फोटो खिचियो। हामीलाई दुई रिल वा करिब ७२ वटा फोटो खिच्न सकिने बताउँदै फोटोवाला दाइले भोकको सुरमा ‘जे पाकेको छ त्यही चाहियो’ भन्न थाले। मैले जिस्कँदै पाकेर रातो भएको टमाटर दिएँ।
000
माई किनारका वामे दाइ
‘सर सुरुंगा यहीँ पर्तिर हैन? हामी घुम्न जान लागेको।’ एकपल्ट सबैले फोटो खिचेपछि मैले विनोद सरलाई सोधेँ।
‘हिँडेर आधा घण्टामा पुगिन्छ, यहीँ त हो। तर केटा हो, रोडमा अलिक होशले हिँड है, तिमेरु किचियौ भने म फेरि जीवनभर किचिएजस्तो हुन्छु नि।’ विनोद सरले हाँस्दै भने। यसो भनेर हाँस्दा उनको मुखबाट एक किसिमको अनौठो हरक बाहिर आयो। मेरो मुख अचानक बिग्रियो, मतिर हेरिरहेकी सरस्वतीले देखिन्, आँखा हटाएर अन्तै हेरिन्।
‘घाँस बोक्ने र दाउरेसँग हिँड्नू। बाटो काट्दा दुबैतिर हेर्नु नि।’ गम्भीरताका साथ सरले फेरि हामीलाई सम्झाए। अर्को पटक तीनवटा जति फोटो खिचेर हामी राजमार्ग हुँदै पल्लो गाउँतिर लाग्यौं। मसँगै घुम्न निस्किएका साथीहरू थिए, राजे, यादे, नारदे र खगे।
हामी पहाडबाट अलिक टाढा बस्ने मान्छेका लागि अनौठो लाग्ने गरी हेर्दा नजिकै साना पहाड ठडिएका थिए। जंगलको विशालता र पहाडको महिमा गाउँदै हामी माई किनार पुग्यौं। नदीको पारीपट्टी दुईवटा गाडीमा ठूला ठूला तुल टाँगिएका थिए। हामीले परैबाट पढ्न खोज्यौं। राजे र खगेले पढ्न सकेनन्। मैले दुबैलाई जिस्क्याएँ, ‘त्यो अखिलको नाम भाको भएर भएर तिमेर्ले पढ्न नसकेको हो। नेविसंघको भए अघि नै पढिसक्ने थियौ।’
‘हो हो यिनेर्काे पारा यस्तै छ, आफ्ना मात्र चिन्छन्। म चाहीँ एउटाको मात्र हैन है, जो भेट्यो उसैको।’ यादेले भन्यो।
‘म चाहीँ कसैको पनि हैन है। जो भेटे पनि कसैको हैन।’ नारदले स्पष्टीकरण दियो। वास्तवमा यी दुईले आआफ्नो स्वभाव र विचार पनि बताएका थिए, जिस्केको शैलीमा।
नजिकै पुगेर गाडीको अगाडि हेर्दा यस्तो देखियो–
ऐतिहासिक वनभोज कार्यक्रम,
अनेरास्ववियू, एकताको पाँचौं, मेची बहुमुखी क्याम्पस, भद्रपुर।
सुरुंगा, झापा,
मिति : २०४४–८–१०
‘नमस्कार, मेरो नाम पराशर नेपाल हो। म भद्रपुर क्याम्पस पढ्छु। अनि तपाईंहरू यहीँ सुरुंगाकै हो? कहाँ पढ्नुहुन्छ?’
हामी रणभुल्लमा पर्यौं। हेर्दै हाम्रो सरजस्तो मान्छे छ, हामीलाई तपाईं भन्ने मात्र हैन, उल्टै नमस्कार पो गर्छ।
‘नमस्कार दाजु। हामी तल सन्थापुर माविबाट यता पिकनिक आएका। खासै थाहा छैन, यता। पिकनिक पाक्दैछ, अनि घुम्न आएको।’ मैले यति भनेँ। साथीहरू केही बोलेनन्, सबैले हात जोडेर आफ्नै कक्षाका सरलाई जस्तो गरिरहे।
‘ल, आउनोस् हाम्रो पिकनिक टोलीसँग भेट गरौं। यी हाम्रा अगुवा महिला कमरेडहरू खानाको टोलीमा खट्नु भएको छ। खाजा बनाइ सकेर अब पुलाऊको तयारीमा हुनुहुन्छ।’
‘उता कमरेडहरूले खसी काटिसक्नु भएको छ, सफा गर्दै हुनुहुन्छ। यता छेउको टोलीका साथीहरू शाकाहारी हुनुहुन्छ, पनिर र मटरको तरकारी पाक्दै छ।’
उनकी एक जना साथीले शीशाका छ वटा गिलासमा चिया ल्याइन्। स्टिलको गिलासमा चिया खाने मलाई अलिक अनौठो लाग्यो। अझ उनले ल्याएको छ वटै गिलास बोक्ने पूजाको थालीजस्तो भाँडो मैले पहिलोपल्ट देखेको थिएँ।
‘दाजु, पाँचवटा भाइहरूलाई, एउटा तपाईंलाई।’ उनले चिया राखेको थाली यता सार्दै भनिन्।
‘मैले त चिया धेरै खाइसकेँ। तपाईं खानोस्, सीमा कमरेड।’
‘छ्या हौ दाजु, मलाई कमरेड नभन्नोस् न प्लिज। अँ, अनि यो चियापत्ती विद्या कमरेडकै घर कन्यामको हो, अब त झन् सुगन्धित लाग्ला। खानोस् ल !’
उनी यति भनेर थाली छाडेर दौडिइन्। हामी पराशर दाइसँगै चकटीमा बस्यौं। उनले हाम्रो गाउँघर, पढाइ, पिकनिकदेखि यता घुम्न आउनुको उद्देश्य सारा सोधखोज गरे। पटक–पटक घुमाएर एउटै कुरा सोधिरहे, ‘तपाईंहरूको विचारधारा के हो?’
हामीलाई यसको अर्थ ठ्याक्कै थाहा नभए पनि उनी वामे संगठनको नेता भन्ने थाहा पाएपछि राजनीतिबारे सोधेको अनुमान चाहीँ गरेको थिएँ। उनले फेरि सोधे, ‘तपाईंहरूको विनोद सर राजनीति पनि गर्नुहुन्छ कि? स्कुलमा पहिला स्ववियु कसले जितेको थियो?’
उनले धेरै कोणबाट एउटै कुरो गरेपछि मैले बुझे अनुसार जवाफ दिएँ, ‘अलिक धेरै बोल्ने र नाच्न गाउन जान्नेहरू वामे छन्। केही नबुझ्ने र केही नजान्नेहरू अरूमा छन्।’ यति भनेपछि उनले हाम्रा लागि डिम्मा र पाउरोटी मगाए। हाम्रो टोलीमा कोही शाकाहारी छ कि भन्ने सोधे। नारदका लागि उनले डिम्माको साटो सुन्तला मगाइदिए। शाकाहारीप्रति यिनले गरेको सम्मान देखेर म दंग परेँ। खाइसक्न लाग्दा नलाग्दै उनले आफ्नो इच्छा सुनाए, ‘तपाईंहरूको वनभोज टोलीसँग भेट्न मन लाग्यो। मलाई नराम्रो त भन्नुहुन्न होला नि, है?’
‘ओइ, हामी सुरुंगा नपुग्ने?’
हामी हाम्रै पिकनिक स्थलतिर फर्किन लाग्दा राजेले सोध्यो। फेरि आउने भन्दै हामी सबै पिकनिक स्थलतिर लाग्यौं। पराशर दाइले काँधमा मादल भिरेका थिए। नदी माथि पुलमा पनि मादल बजाएर उनी वरपर हिँडिरहेका अन्य बटुवा र दाउरेहरूको ध्यान तान्दै थिए। त्यत्तिकैमा उनले मातेका दुई युवाको छेउमा गएर मादल बजाउँदै सोधे, ‘म बजाउँछु, नाच्छौ?’
हामी मरिमरी हाँस्न थाल्यौं। मातेका केटाहरू रिसाउँदै ढुंगा टिप्न थालेपछि उनी पनि हामी उभिएतिरै साइड लागे। हामी अब हाम्रो पिकनिक स्थलमा थियौं।
‘नमस्कार सबै साथीहरूलाई। नमस्कार विनोद सर। यहाँको नाम सुनिरहेको थिएँ, अहिले भेट भयो। मेरो नाम पराशर नेपाल है साथीहरू। अनि खाना बन्दैछ कि खाइसक्नुभयो?’
कसैले चिनाइ रहनु नपर्ने गरी सबै आफ्नै ठाउँ जस्तै गरी पराशरले भट्याइसके।
‘म ऊ त्यो पारीको अर्को वनभोज छ नि, हो त्यो टोलीको मान्छे हुँ। मेची क्याम्पस भद्रपुरमा बीकम पढ्दैछु।’
‘स्ववियूमा हुनुहुन्छ हो?’ विनोद सरले बोली सुनेरै अनुमान लगाइहाले।
‘हजुर सर, ठीक अनुमान।’
‘कसको, अखिलकै हैन यहाँ पनि?’
‘हो, नि सर। अरूको त चान्स नै छैन। ’
‘अनि सर, हजुरको आस्था?’
‘स्कुल पढाउन थालेपछि आस्थाले मसँग छोडपत्र गरिन्।’
‘हजुर सर, कुरो बुझेजस्तो मात्र भएँ तर बुझिनँ।’
‘अब स्कुल पढाउन थालेपछि निस्क्रिय भएँ। एमएम कलेजमा बिएससी पढ्दा म पनि थिएँ प्राकतिर। अहिले घर, परिवार र जागिरमै छु।’
बिहान मसँग रिसाएकी सुशीला दिदीले इशाराले भान्सामा बोलाइन्। तल चकटीमा बसाइन् र ‘चाख् त भाइ’ भन्दै पाक्दै गरेका मासुका टुक्रा दिइन्। सोधिन्, ‘ओइ कुमाले, को मान्छे लिएर आको?’
‘भिनाजु खोजेर ल्याइदेको। राम्ररी हेर्नू त दिदी, मन पर्यो कि परेन?’ उनले अगुल्टो तानेर हान्न खोजेपछि म तर्किएँ। भाग्दै यति चाहीँ भन्न भ्याएँ, ‘एकछिन्मा यिनले मादल बजाउँछन्, अनि दिदी नाच्ने, है?’
नभन्दै पराशरले आफैं मादल बजाए र गीत शुरु गरे। विनोद सरले भने, ‘एक दुईटा प्रगतिशील र एक दुईटा लोकगीत गाऔं न, मन लाग्नेहरू नाच्छन् पनि।’
‘शुरुमा केही महिनादेखि चर्चामा रहेको रेडियो नेपालमा बज्ने पाण्डव सुनुवार र वासुदेव मुनालको गीत सुन्नोस् है।’
यो दाजुको मिर्मिरे आँखा, मिर्मिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाख
नरोऊ मायालु.........
तारा, सरस्वती, मैना, उषा, इन्दिरालगायत सबैले साथ दिए। पहिलो लाइनमा खासै खुलेनन्, पछि त यिनले महिला कलाकारको कमी नै पूरा गरिदिए। विनोद सर एक्लै नाचे, अलिक पछि पुष्पेले साथ दियो। सरस्वतीलाई डाकिरहे विनोद सरले, तर उनले गाइरहिन्, नाच्न आइनन्। गीत सकिएपछि वाहवाह भन्नुपर्ने कुरो मैले त्यही बेला सिकेँ। सबैले जानेको यो गीत पनि मेरा लागि चाहीँ नयाँ लाग्यो, पहिला सुनेका भन्दा निकै अलग तर मीठो। पराशरले सबैलाई सोधे,
‘पुग्यो कि सुन्ने?’
‘कहाँ पुग्नु, सुन्ने नि।’ समूहमा आवाज आयो।
‘अब म अर्को एउटा रेडियोमा नबज्ने तर सरकारी दमनले मान्छे मारेको गीत सुनाउँछु। यो गीत तपाईंहरूकै जिल्ला पथरीको सुकुम्बासी परिवारको घरमा आगो लाएर मान्छे मारेपछि रचिएको हो।’
गड्यांग र गुडुंग मेघ पानी हैन आकाश सफा छ
छिर्का र मिर्का पानी त हैन, रगतको टाटा छ।
सूर्तीघारीमा आमाको लाश
पातलघारीमा बाबाको लाश
गीत गाउँदा बीचबीचमा पराशर रोकिएर शब्द र सन्दर्भको ब्याख्या पनि गर्थे। दोहोरिने लाइनमा सबैलाई गाउन सहभागी गराउँथे। अरूले पनि साथ दिएपछि झन् जोशिएर गाउँथे।
संक्रान्ति मुनि डाँडा है पारी जून पनि लुकेछ
अँधेरी रातमा महादेव थानमा बन्दूक भुकेछ
रामनामी खास्टो ओढेर दुष्ट बन्दूक बोक्दैछन्
यो कुरा आज गाउँगाउँमा जनता सबैलाई भन्दैछन्।
‘कस्तो लाग्यो त यो सरकारबिरोधी गीत?’ मैले साथीहरूतिर हेरेँ। धेरै केटाहरू मौन र स्तब्ध थिए। केटीपाटीहरू चाहीँ प्रायः बिस्तारै रोइरहेका थिए। पराशर आफैंले पनि आँसु पुछे। अनि सुशीला दिदीतिर फर्किएर पानी माग्दै भने, ‘कमरेड, एक गिलास पानी खाऊँ न है।’ दिदीले पानी ल्याएर दिइन् तर त्यस समय उनका हात कामिरहेका थिए। अनौठो मानेर पराशरले हेरिरहे यो दृश्य।
‘ओइ भाइ, कमरेड भनेको चाहीँ के हो?’ उनले मेरो छेउ आएर सोधिन्। साँच्चै भन्दा सचित्र चीन, दृष्टि, छलफल र जनसागर पत्रिका पढ्दा त्यहाँ नामका अगाडि कमरेड वा क. लेखेको देखेको थिएँ। स्कुलमा आन्दोलन हुँदा झापा र इटानगरबाट आएका विद्यार्थीले हामी सबैलाई कमरेड, कामरेड भनेका पनि थिए। तैपनि मलाई यसको ठ्याक्कै अर्थ चाहीँ थाहा थिएन। मैले उट्पट्याङ् पारामा भनिदिएँ, ‘कमरेड भनेको मेरी प्यारी मायालु भनेको क्या दिदी।’ यसपछि म लुक्दै अर्को साइड लागेँ।
‘कमरेड भनेको के हो साँच्ची, सर?’ पार्वताले पराशरलाई नै सोधी। प्रश्न सोध्ने वातावरण थिएन तर उसको हाउडे व्यवहारबाट सबै परिचित नै थिए।
‘विशेष साथी, सहयोद्धा भनेको हो। अँ, अब अलिकति खाने कार्यक्रम राखौं होला। धेरै गीत भयो भने धेरै रुवाई पनि हुन्छ। खाएर फेरि रुने है।’ विनोद सरले कति कर गर्दा पनि पराशरले खान मानेनन्। सबैलाई अखिलमा लागेर राम्रो गीत गाउन आग्रह गर्दै दुई हात जोडेर विदा भए। म र विनोद सरसँग चाहीँ हात मिलाए। बिहान मैले जिस्कँदा साँच्चै रिसाएको यादेले मतिर लोभलाग्दो पाराले हेर्यो। म यत्ति मात्रले पनि गर्व अनुभव गरिरहेको थिएँ। सोचेँ, ‘मैले ल्याएका मान्छेले यति राम्रो गीत गाए। अब यहाँका साथीहरू पनि सबै अखिल हुन्छन् होला।’
विनोद सरले खाना खानका लागि लाइनमा लाग्न आग्रह गरे। हाम्रो खाना पस्किने टोलीतिर हेरेँ, धेरैजसो मौन थिए। मैले राजमार्गतिर हेरेँ, एउटा मादल भिरेको एक्लो आकृति गर्विलो ओजमा अनेकौं सपना बोकेर माई खोलाको पारीतिर लाग्दै थियो। सुशीला दिदीले पनि आँखा नझिम्क्याइ एकछिन् त्यता हेरिरहिन्। मैले उनलाई हेरेको थाहा पाएपछि आँखा अन्तै घुमाइन्। पुलाउ बाँड्नुअघि उनले सर्टका बाहुलाले आँसु पुछिन् र काममा लागिन्।
(उपन्यासकार गौतमको नयाँ उपन्यास 'विश्रामपुर'बाट। गौतमलाई @G_padam मा भेट्न सकिन्छ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।