काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्ध नागरिक खबरदारी गरिएको छ। प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक खबरदारी गरिएको हो।
विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लगायत नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरुले संसद विघटनको कदमको बिरोध गरेका छन्।
प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमका विरुद्ध सबै बुद्धिजिवीहरु एकै ठाउँमा आउनुपर्ने बताए। उनले सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको बताए। केसीले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि सम्पूर्ण लोकतन्त्रवादीहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।
नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मुल मर्म स्वतन्त्रता र नागरिक अधिकार भएपनि सरकारले खोसेको बताए। उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको टिप्पणी गरे।
डा. केसीले प्रतिनिधि सभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको भन्दै सम्पूर्ण प्रजातन्त्र र लोकतन्त्रवादीहरु एकठाउँमा आउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।