काठमाडौं- ४० वर्षमुनीका महिलाका लागि विदेश भ्रमणमा जान परिवारको र वडाको सिफारिस आवश्यक पर्ने गरी अध्यागमन विभागले तयार पारेको कार्यविधि संशोधनविरूद्ध महिलाहरूले आज विरोध प्रदर्शन गर्ने भएका छन्।
एक्लै विदेश भ्रमणमा जाने ४० वर्षमुनीका महिलाहरूका लागि विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाइएकोमा त्यसले समानताको हकलाई कुण्ठित गरेको भन्दै आज (बिहीबार) दिउँसो १ बजे विरोध प्रदर्शन गरिने भएको हो।
‘सम्मानपूर्वक बाँच्न पाउने अधिकार देऊ सरकार नत्र पासपोर्ट फिर्ता लेऊ‚’ नारासहित अध्यागमन विभागअघि विरोध प्रदर्शन गर्न लागिएको हो।
‘अझै कत्ति सहने’ ह्यासट्याग लेखेर सामाजकि सञ्जालमा यसको विरोध भइरहेको छ।
विभागले यस्तो कार्यविधि अघि सारेपछि आलोचना भइरहेको छ। सरकारले स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने हक छिनेको भन्दै महिलाहरूले विरोध प्रदर्शन गर्ने जनाएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।