काठमाडौं- नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथिको कारबाही फिर्ता गर्न नेपाली कांग्रेस, जिल्ला कार्यसमिति तनहुँले आग्रह गर्ने निर्णय गरेको छ। तनहुँ कांग्रेसको बैठकले जोशीमाथिको कारबाही फुकुवाका लागि नेपाली कांग्रेस केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको हो।
२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट आधिकारिक उम्मेदवार बनेका रामचन्द्र पौडेललाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसले जोशीलाई अनुशासनको कारबाही गरेको थियो।
रामचन्द्र पौडेलविरुद्ध जोशी आफैँले उम्मेदवारी दिएका थिए। तर अन्तिम समयमा निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो। भ्रष्टाचारको आरोपमा अदालतमा मुद्दा विचाराधीन भएको भन्दै आयोगले उनको उम्मेदवारी रद्द गरेको बताएको थियो।
उम्मेदवारी रद्द गरेपछि उनको समूहले पार्टीका आधिकारिक उम्मेदवार पौडेललाई असहयोग गरेको आरोप लागेको थियो।
मत परिणाममा वाम गठबन्धनका उम्मेदवार किसानकुमार श्रेष्ठले पौडेललाई पराजित गरेका थिए। विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याएका थिए भने पौडेलले २७ हजार ६७५ मत मात्र पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।