काठमाडौं- महालक्ष्मी विकास बैंकको शाखा कार्यालय कुमारीपाटी ललितपुरमा भएको घोटाला प्रकरणमा जोडिएका अभियुक्तहरूको बयान सुरु भएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उक्त बैंकमा भएको घोटालाको अनुसन्धान प्रतिवेदन बुझाएसँगै उच्च अदालतमा पाटनमा सोमबार बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो। मंगलबारबाट बैंकका कर्मचारीसहित ८ अभियुक्तको बयान सुरु भएको छ।
उक्त बैंकको कुमारीपाटी शाखाका तत्कालीन प्रबन्धक ३९ वर्षीय पिंकु पालिखे, बैंककै शाखा प्रबन्धक स्मृति राणा, बैंकका सुन जाँचकी पदमचन्द्र ज्ञवाली, ऋणीहरू देवानन्द राई, सन्दिप लिम्बू, पूर्ण राईसहित ८ जनाविरुद्ध बयान सुरु भएको हो।
बैंककै कर्मचारीको मिलेमतोमा ७ करोड ४८ लाख रूपैयाँ घोटाला भएको थियो। प्रहरी अनुसन्धानका क्रममा कर्जा दिने बेलामा १७ किलो सुनको मूल्यांकन गरेर दिएको थियो। पछि कर्जा नतिरेपछि सुन लिलामी गर्न खोज्दा ५ किलो मात्रै सुन भएको पाइएको थियो।
कर्जा प्रवाह गर्दा धितो राखेको सुनको भाउ ४० प्रतिशतसम्म वृद्धि हुँदासमेत कर्जाको रकम उठ्न नसक्ने अवस्था आएको पाइएपछि घोटाला भएको विषय सार्वजनिक भएको थियो।
यसरी कम र कमसल सुन राखेर कर्मचारीको मिलेमतोमा झण्डै साढे ७ करोड रूपैयाँ घोटाला भएको अनुसन्धानबाट खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।