काठमाडौं– विगत ३ वर्षदेखि महालक्ष्मी विकास बैंकको शाखा कार्यालय कुमारीपाटी ललितपुरमा अनियमितता हुँदै आएको पाइएको छ। बैंकका कर्मचारीकै मिलेमतोमा ७ करोड ४८ लाख रुपैयाँ बिगो बराबरको रकम घोटाला भएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धानले देखाएको छ।
कमसल र कम परिमाणको सुन राखेर बढी कर्जा प्रवाह गरी घोटाला भएको पाइएको हो। सिआइबीले कर्जा अपचलनसम्बन्धी बैंकिङ कसुरको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सन्दिप लिम्बू, देवेन्द्र राई र पूर्ण राई छन्। उक्त घोटालामा संलग्न भएको आरोपमा कर्मचारीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको सिआइबी स्रोतले जनाएको छ।
मिलेमतोमा कम र कमसल सुन राखेर बढी कर्जा प्रवाह गर्ने बैंकका कर्मचारी भने फरार रहेका छन्। कमसल र कम सुन धितो राखेर कर्जा लिई नतिरेपछि घोटाला भएको पाइएको थियो।
धितो राखेको सुन बिक्री गर्न लाग्दा घोटाला भएको पाइएको थियो। कर्जा प्रवाह गर्दा धितो राखेको सुनको भाउ ४० प्रतिशतसम्म वृद्धि हुँदासमेत कर्जाको रकम उठ्न नसक्ने अवस्था आएको पाइएपछि घोटाला भएको विष सार्वजनिक भएको थियो। मिलेमतोमा कर्जा प्रवाह गर्ने बैंकका तत्कालीन कर्मचारी भने हालसम्म फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।