काठमाडौं- विगत ३ वर्षदेखि महालक्ष्मी विकास बैंकको शाखा कार्यालय कुमारीपाटी ललितपुरमा भएको सुन घोटालाबारे थप रहस्य खुल्न थालेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उक्त बैंकमा भएको घोटालाको अनुसन्धान अघि बढाएसँगै थप रहस्य खुल्न थालेका हुन्।
प्रहरी अनुसन्धानका क्रममा कर्जा दिने बेलामा १७ किलो सुनको मूल्यांकन गरेर दिएको पाइएकोमा अहिले ५ किलो मात्रै सुन फेला परेको छ। सिआइबीका एसपी बेलबहादुर पाण्डेयले भने, ‘१७ किलो सुनको मूल्यांकन गरेर कर्जा दिएको देखिन्छ। तर राखिएको सुन अहिले जाँच गर्दा ५ किलो मात्रै रहेको पाइएको छ। यसमा बैंककै एक कर्मचारीको मिलेमतो भएको देखिएको छ।’
बैंकका कर्मचारीकै मिलेमतोमा ७ करोड ४८ लाख रुपैयाँ रकम घोटाला भएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धानले देखाएको छ।
कम परिमाणको सुन राखेर बढी कर्जा प्रवाह गरी घोटाला भएको पाइएको हो। सिआइबीले यसअघि नै कर्जा अपचलनसम्बन्धी बैंकिङ कसुरको आरोपमा ३ जनालाई पक्राउ गरिसकेको छ। सन्दिप लिम्बू, देवेन्द्र राई र पूर्ण राईलाई पक्राउ गरेको थियो।
उक्त घोटालामा संलग्न भएको आरोपमा कर्मचारीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। मिलेमतोमा कम र कमसल सुन राखेर बढी कर्जा प्रवाह गर्ने बैंकका कर्मचारी भने फरार रहेका छन्।
धितो राखेको सुन बिक्री गर्न लाग्दा घोटाला भएको पाइएको थियो। कर्जा प्रवाह गर्दा धितो राखेको सुनको भाउ ४० प्रतिशतसम्म वृद्धि हुँदासमेत कर्जाको रकम उठ्न नसक्ने अवस्था आएको पाइएपछि घोटाला भएको विष सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।