काठमाडौं- निर्वाचन आयोगले नेकपाको विभाजन र फेरबदललाई अस्वीकार गरेको पत्र दुवै पक्षलाई पठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र प्रचण्ड-नेपाल पक्षलाई आयोगले पठाएको पत्र दुवै पक्षले बुझिसकेका छन्।
नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेता लिलामणि पोखरेलले पत्र प्राप्त भइसकेको र उक्त विषयमा पार्टीमा थप छलफल गरेर रणनीति बनाउने तयारी भइरहेको जानकारी दिए।
ओली पक्षले भने यो विषयमा अहिलेसम्म औपचारिक जानकारी बाहिर ल्याएको छैन। प्रधानमन्त्री ओलीले सोमबार दाङमा आयोजित कार्यक्रममा माधव नेपाललाई अध्यक्ष बनाइएको विषयमा व्यंग्य गर्दै आयोगले अध्यक्ष पद नै अस्वीकार गरेकोमा खुशी व्यक्त गरेका थिए।
आयोगले आइतबार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन गर्न नमिल्ने र नेकपामा ओली र प्रचण्ड नै अध्यक्ष रहेको निर्णय गरेको थियो।
यसका साथै पुस ५ गतेयता नेकपाका दुवै पक्षले गरेका फेरबदल र निर्णय समेत कानूनसम्मत नभएको निर्णय गरेको थियो। उक्त निर्णय अनुसारको पत्र आयोगले सोमबार दुवै पक्षलाई पठाएको थियो।
हेरौं पत्र:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।