हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्बन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन्। शुक्रबार मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस र कम्युनिस्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेकाले अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको औँल्याए।
गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए। राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको भन्दै उनले अभिभावकको भूमिकामा मात्र राजसंस्था रहने बताए। फरक विचारसहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने विचार व्यक्त गरे।
भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताए। कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारीले कांग्रेस कम्युनिस्ट असफल भएको, भ्रष्टाचार र भ्रष्टाचारीलाई राज्यबाटै संरक्षण भएको भन्दै राज्य व्यवस्था परिवर्तन नगरी नयाँ आशा दिन नसकिने दाबी गरे।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए। कार्यक्रममा रामहरी न्यौपाने, खिल चौलागाईं, गुरु सापकोटा, कृष्ण विडारी, उमाकान्त गौतम, जयराम तिमल्सिनालगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।