काठमाडौं- कमलपोखरी बचाउ अभियानमार्फत निरन्तर दबाब आइरहँदा पनि काठमाडौं महानगरपालिका रातारात कमलपोखरीको माटो ओसारेर पोखरी रद्दी बनाउन लागिपरेको छ। पुरातत्व विभागले काम रोक्नु भनेर पत्र काटेकै दिन रातिमा ठेकेदार कम्पनीले पोखरीको माथिल्लो तहमा आवश्यक माटो ओसारेको हो।
पोखरीको ऐतिहासिक, साँस्कृतिक र पर्यावरणीय वातावरणलार्य असर पर्ने गरी नर्माण कार्य भइरहेकाले त्यसलाई रोकेर साविककै मौलिक स्वरुपमा संरक्षण गर्न भन्दै पुरातत्व विभागले महानगरपालिकालाई सोमबार पत्र काटेको थियो। तर प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुरुप काम गर्न पुरातत्वले भनेकै रातमा भने महानगरले पोखरीमा महत्वपूर्ण हुने माटो ओसारेको हो।
रातको समयमा त्यसरी पोखरीमा डोजर चलाएर माटो ओसार्दा महानगरले कमलपोखरीको प्राकृतिक स्वरुप बचोस् भन्नेमा विचार नगरेको देखिएको छ। काठमाडौं महानगरपालिकाले गएको वर्ष असारमा कमलपोखरी पुनर्निर्माणको काम सुरु गरेको हो। जहाँ ९ करोड ४६ लाख ९९ हजार रुपैयाँमा पोखरीको स्वरुप फेर्ने, वरपर व्यायाम क्षेत्र, ब्याडमिन्टन, बास्केटल खेल्ने स्थान बनाउने, पोखरीको बीचमा जाने पुल बनाउने, सिमेन्टको कमल बनाउने जस्ता योजना देखिन्छन्।
कुनै समय व्यापक सिमसारको रुपमा रहेको कमलपोखरी अतिक्रमित हुँदै अहिलेको अवस्थामा आइपुगेको हो। त्यसको प्राकृतिक स्वरुप संरक्षण गरेर सम्पदा जोगाउन लागिपरेका अभियन्ताले सोमबार राति कमलपोखरीमा डोजर चलेको थाहा पाएर राति नै धर्ना दिन पुगेका थिए। अभियन्ताले रातको समयमा गएर काम रोके पनि महानगरको लुकेर काम टार्ने सोचले उनीहरु थप चिन्तित देखिएका छन्।
कमलपोखरी जोगाउन सुरुदेखि लागिपरेका नरेन्द्र मानन्धरसहित मिलन राई, गणपति लाल श्रेष्ठ, विनोद देउवा ठकुरी र चेतन बुढाथोकी सोमबार राति साढे १० बजे कमलपोखरीमा चलिरहेको डोजर रोक्न गएका थिए। रातको समयमा कमलपोखरीको माटो ओसारेको थाहा पाएपछि आफूहरु रातमा नै त्यहाँ पुगेको उनीहरु बताउँछन्।
पुरातत्व विभागले काम रोक्न भनेर पत्र काटेपछि नै जसरी हुन्छ काम सकाइहाल्ने ठेकेदार कम्पनीले भूमाफिया शैलीमा काम गर्ला भन्ने डर उनीहरुलाई पहिले नै थियो। सोमबार राति साढे ८ बजे कमलपोखरीकै बाटो घर फर्किरहँदा डोजर चलेको देखेर अभियन्ता साथीहरुलाई खबर गरेको नरेन्द्र मानन्धर सुनाउँछन्।
नरेन्द्रले खबर गरेपछि नै अभियन्ताहरु राति नै कमलपोखरी पुगेका थिए। ‘उत्तर–पूर्वतिरको कुनामा डोजर चलिरहेको थियो। पछि त पोखरीको बीचमा डोजर लान खोजेको र त्यहाँ छेउदेखि माटो निकालिरहेको थाहा भयो। त्यसैले राति साढे १० बजे हामी सबै त्यहाँ जम्मा भएर काम रोक्यौँ। तर एक ट्रक कालो माटो त लगिसके छन्’ नरेन्द्रले भने।
पोखरीको माटो बुढानिलकण्ठमा फाल्न लगिएको डोजर चालकले बताएका थिए। त्यसरी पोखरीमा पानी जम्मा हुन महत्वपूर्ण हुने वर्षौदेखि बनेको माटो रद्दीमा फाल्नु पोखरी संरक्षणमा उचित सोच र योजना नहुनु नै हो। गलत काम भइरहेको थाहा पाइसक्दा र पुरातत्वले काम रोक्न भनिसक्दा पनि रातको समयमा पोखरीमा डोजर चलाउनु महानगरको गैरजिम्मेवारीका रुपमा अभियन्ताले थप दबाब दिइरहेका छन्। मंगलबार उनीहरु मेयर विद्यासुन्दर शाक्यलाई सचेतना पत्र बुझाउने तयारीमा छन्।
‘दिउँसो काम गर्दा विरोध आयो, सबैले थाहा पाए भनेर नै रातमा काम गरिएको हो। विगतदेखि अतिक्रमित भएको पोखरी पुरानै शैलीमा फर्काउनुपर्छ भनेर हामी आवाज उठाइरहेका छौँ। कंक्रिटका रुपमा होइन प्राकृतिक वरदानका रुपमा पाएको सिमसारलाई त्यही अनुरुप संरक्षण गर्नुपर्छ, कमिसनको खेलमा लागेर यस्तो गर्नु मिल्दैन’ नरेन्द्रले सामूहिक आवाजका रुपमा सुनाए।
महानगरपालिकाले गरिरहेको काममा पहिले बचाउ गरिरहेका वडा नम्बर १ का वडाध्यक्ष भरत श्रेष्ठ अहिले भने पन्छिने गरेका छन्। सोमबार राति डोजर चलाएको विषयमा कुराकानी गर्न खोज्दा उनीसँग बारम्बार सम्पर्क हुन सकेन। अभियन्ता र स्थानीयले दिइरहेको दबाबपछि अहिले उनी पोखरीको स्वरुप परिवर्तन गर्नेबारे मौन बसिरहेका छन्।
यस्तो छ पुरातत्वको पत्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।