काठमाडौँ–प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबारबाहेक सबै दिन बसाल्ने प्रस्ताव भएको छ।
सभामुख देवराज घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन्।
सभामुख घिमिरेले आज बसेको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा यस्तो प्रस्ताव गरेका उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
प्रमुख सचेतकहरूको बैठकले सभामुख घिमिरेको त्यस प्रस्ताव अनुमोदन गरेको छ। सोही बमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने अधिकारीले जानकारी दिए।
घिमिरेले सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चापको अवगत गराएका थिए। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको रहेको उनले बताए।
‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ। उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ। उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ। जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं। समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरू गर्छ’, घिमिरेले भने।
बैठकमा सभामुख घिमिरेले संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्व बजेट छलफल तथा बजेटको चाप परेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।