काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एकपल्ट पनि सूर्य चिह्नमा चुनाव नलडेको व्यक्तिले सूर्य चिह्नको दाबी गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गरेका छन्। उनले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा सूर्य चिह्न दाबी गर्ने नैतिक धरातल समेत प्रचण्डसँग नभएको बताए।
'मैले साथीहरु कहाँछन् भनेर हेर्दै थिएँ। निर्वाचन आयोगमा सूर्य चिह्न दाबी गर्नु पुग्नुभएछ। सूर्य चिह्न दाबी गर्ने को भन्दा जो एकपल्ट पनि त्यो चिह्नमा चुनाव लडेको छैन,' उनको कटाक्ष थियो।
आफूले दर्तादेखि अहिलेसम्म उक्त चिह्नबाटै चुनाव लडेको बताउँदै सूर्य आफ्नो नै हुने दाबी गरे।
उनले एकपल्ट उक्त चिह्नबाट चुनाव लड्ने अवसर समेत प्रचण्डले गुमाएको बताए। आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति पनि भएको बताए। तर त्यसको दुई दिनमै उक्त सहमित तोडिएको बताए।
सूर्य चिह्न भएका कार्यकर्ताले समेत अर्को चिह्नमा भोट हालेर मात्रै प्रचण्डले जितेको उनको भनाई थियो। उनले भने, 'सूर्य चिह्न चाहिन्छ भने निर्वाचन आयोग हैन। हाम्रो बैठकमा आउनुहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।