काठमाडौं- ‘काठमाडौं महानगरलाई स्मार्ट सिटी बनाउँछु।’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गत बैशाख २३ (मे ६) मा गरेको ट्विट हो यो।
त्यसको ठिक तीन दिनपछि उनी थप उत्साहित हुँदै अर्को ट्विट गरे— ‘मेरो जितको दिनदेखि दिनगन्ती सुरु हुन्छ ‘एक सय एक दिनभित्र’ काठमाडौं विश्वकै उत्कृष्ट सहर बन्न।’
चुनाव हुनुअघि नै सामाजिक सञ्जालमार्फत आएको शाक्यको अभिव्यक्तिलाई हामीले सुरक्षित राखेका थियौं। किनकि आफूले जितेको दिनदेखि एक सय दिनभित्रै काठमाडौंलाई उत्कृष्ट सहर बनाइसक्ने भन्दै ‘एक सय एक’ कामको सूचीसहित उलने निकै महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए।
उनको पहिलो ट्विटमा कुनै प्रतिक्रिया आएको छैन। दोस्रो ट्विटमा भने ९४ रिप्लाई, ८९ रिटुइट र १ सय ६ लाइक आएको थियो। सय दिनमा ‘एक सय एक’ काम गर्ने योजना सहित सार्वजनिक शाक्यको उक्त ट्विटमा अधिकांशले ‘पत्याउन नसक्ने कुरा’ भन्दै टीका-टिप्पणी गरेका छन्।
...
वैशाख ३१ गते निर्वाचन भयो। जेठ १४ गते सार्वजनिक अन्तिम मतपरिणाम अनुसार महानगरको मेयरमा शाक्यले बाजी मारे। जेठ १७ गतेदेखि उनले काठमाडौंको मेयरका रुपमा कार्यभार सम्हाले।
आज भदौ १६।
काठमाडौंको मेयरका रुपमा उनी चुनिएको ९७ औं दिन। मेयरका रुपमा कार्यभार सम्हालेको ९४ औं दिन। शाक्यले आफूले मेयरमा जितेको दिनदेखि नै गणना गर्नु भनेकाले सय दिन पुग्न अब जम्मा तीन दिन बाँकी छ।
९७ दिनभित्र काठमाडौंमा के भयो परिवर्तन?
मेयर शाक्यले भने झैं अबको बाँकी तीन दिनभित्र काठमाडौं विश्वकै उत्कृष्ट सहर बन्ला? काठमाडौं स्मार्ट सिटीका रुपमा चिनिएला त?
नेपाल लाइभको टिमले काठमाडौं महानगर घुम्दै यसको उत्तर खोज्यो।
र, हामीले भेट्यौं।
काठमाडौं महानगरभित्र बुङ्बुङ्ती उडिरहेको धूलो र धूवाँ, अस्तव्यस्त ट्राफिक जाम, सडकमा खाल्डैखाल्डा, असरल्ल तारहरु, फोहोर; घाम लाग्दा धूलो, पानी पर्दा हिलो हुने उही पुरानो कुरुप काठमाडौं।
मेयरका रुपमा शाक्य विजयी हुनुभन्दा अघि जस्तो थियो, अहिले पनि उस्तै अस्तव्यस्त, भिडभाड र फोहोर छ काठमाडौं।
शाक्यले चुनावअघि भनेका थिए, ‘मेरो जितको एक सय एक दिनपछि दोस्रो पटक काठमाडौं आउने पर्यटकले ‘वाउ’ काठमाडौं भन्दै ढल्कीढल्की फोटो खिच्नेछन्।’ मेयर शाक्यले भनेझैं पर्यटकले ढल्कीढल्की फोटो त खिचिरहेका छन् तर वाउ भन्दै होइन आफूलाई धूलो, धूवाँ र हिलोबाट जोगाउन।
खोइ त नो मास्क सिटी?
स्मार्ट र विश्वकै उत्कृष्ट सहर बनाउने भन्दै शाक्यले सार्वजनिक गरेको एक सय एक योजनाको ५९औं नम्बरमा काठमाडौंलाई नो मास्क सिटी बनाउने उल्लेख छ। यसका लागि काठमाडौंमा क्लिन द सिटी अभियानको प्रारम्भ गर्दै धूवाँधूलो न्युनीकरण कार्यक्रम चलाउने भनिएको छ।
तर, काठमाडौंमा मास्क नलगाई घरबाट निस्केको मानिस साँझ फर्कंदा बिरामी हुने अवस्था छ। विज्ञहरुले त चेतावनी नै दिएका छन्, ‘काठमाडौंको धुलोधुवाँ साधारण मास्कले छेक्दैन।’ अस्पतालमा बढेका दम लगायत श्वासप्रश्वासका बिरामीलाई डाक्टरहरुले सुझाव दिइरहेका छन्, ‘काठमाडौंको धुलोधुवाँबाट जोगिनुस्।’ वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार काठमाडौंको प्रदूषणले अस्पतालमा बिरामीको चाप हरेक दिन बढाइरहेको छ।
धूलोको समस्या समाधान गर्न शाक्यले आफ्नो योजनाको २४ नम्बर बुँदामा विशेष प्रविधिको प्रयोग गरी धूलोरहित सडक निर्माण उल्लेख गरेका छन्। तर, सडकमा धुलो हटाउने उक्त प्रविधि कहीँ पनि प्रयोग भएको हामीले देखेनौं।
सडक छेउमै घर भएका कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, लाजिम्पाट, त्रिपुरेश्वर, चाबहिल, जमलका स्थानीयलाई हामीले धुलोमुक्त र नो मास्क सिटीका विषयमा जिज्ञासा राखेका थियौं। उनीहरु सबैले झुटो योजना देखाएर चुनाव जितेको भन्दै मेयरको आलोचना गरे।
‘काठमाडौं महानगर झिलिक्कः घरघर टिलिक्क’
काठमाडौंलाई आकर्षक र स्मार्ट रुपमा चिनाउन भन्दै शाक्यले सार्वजनिक गरेको अर्को योजना हो, ‘काठमाडौं महानगर झिलिक्क: घरघर टिलिक्क’। घरघर टिलिक्क पार्न शाक्यले सार्वजनिक भवनमा रङरोगन गर्ने र आम नागरिकलाई आह्वान गर्दै अभियानका रुपमा यसलाई चलाउने योजना बनाएका छन्। तर, यो काम पनि उनको योजनाको ३८औं बुँदामै सीमित छ।
सडकमा खाल्डैखाल्डा
मेयरको जित भएको सय दिनभित्र काठमाडौंका सडकलाई खाल्डारहित बनाउने योजना उनको २४औं बुँदामा छ। ‘मेलम्ची आयोजना लगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डीहरु पुर्ने’ उनको योजनामा उल्लेख छ। तर काठमाडौंका हरेक सडकमा सयौं खाल्डा छन्।
सडकका खाल्डाका कारण राजधानीमा सडक दुर्घटना बढिरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिँदा समेत मेयर शाक्यले अटेर गरेका छन्। सय दिनभित्र विशेष प्रविधिको प्रयोग गरी खाडलरहित सडक निर्माण गर्ने उनको योजना अबको तीन दिनभित्र पूरा हुने सम्भावना छैन।
दिक्कलाग्दो जाम, कुरुप तार
मेयर शाक्यले सय दिनभित्र काठमाडौंलाई ट्राफिक जाममुक्त बनाउने भनेका थिए। यसका लागि उनले ‘सही समय सही ठाम, नो ट्राफिक जाम’ नारा समेत बनाए। यति मिठो नारा भने योजनाको २५औं बुँदामै थन्किएको छ। काठमाडौंको दिक्कलाग्दो जाम घट्नुको साटो झन् बढिरहेको छ।
सहरको मुहार फेर्न असरल्ल तारलाई व्यवस्थित बनाउने योजना पनि कार्यान्वनमा आउन सकेको छैन। जताततै लत्रेका तारले सहरलाई कुरुप बनाउनुका साथै दुर्घटना समेत बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल बताउँछन्।
काठमाडौंका सडकलाई छाडा चौपायमुक्त बनाउने, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, सडकमा निर्माण सामग्री थुपार्न नदिने, ट्राफिक लाइट बनाउने लगायतका उनका एक सय एक योजनाका अधिकांश काम कार्यान्वयनमा आउन सकेका छैनन्।
काठमाडौंका मेयरसँग आफ्नो योजना पूरा गर्न अझै तीन दिन (जितको दिनदेखि गणना गर्दा) र मेयरको जिम्मेवारी सम्हालेको दिनदेखि गणना गर्दा भने अझै छ दिन बाँकी छ। काठमाडौंको स्थलगत अध्ययनका क्रममा बाँकी रहेको यो अवधिमा उनले आफ्नो योजना पूरा गर्ने सम्भावना हामीले देखेका छैनौं। के उनले यो छोटो समयमा केही चमत्कार गर्न सक्लान्?
यी हुन् मेयर शाक्यले सार्वजनिक गरेका १०१ योजना
१. हाल राज्यले दिएको मासिक सुरक्षा भत्तामा रु. ३००० थप गरी रु. ५००० बनाउने । ८४ वर्ष पुगिसकेकालाई रु।१०,००० मा २००० थप गरी रु। १२ हजार बनाउने (मेयरले गर्ने प्रथम निर्णय) थप सुविधाहरु क्रमशः बढाउन अध्ययन कार्यदल बनाउने। भत्ता रकम सम्बन्धित व्यक्तिको बैंक खातामार्फत सीधै पठाउने व्यवस्था गर्ने।
२. ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनर्स्थापनाको प्रक्रिया अघि बढाउने।
३. मेयरको पदभार ग्रहण गर्नु अगावै महानगरपालिकाको कार्यालय परिसरभित्रै नवनिर्वाचित जनप्रतिनिधिहरुले मूल्यवान् फल लाग्ने, रुख रोपी 'ग्रिन एण्ड क्लिन काठमाडौं' अभियानको कार्य शुभारम्भ गर्ने।
४. महानगरपालिकाभित्रका धार्मिक तथा सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरु जस्तै स्वयम्भू, पशुपति, बौद्ध, वसन्तपुर लगायतका स्थानहरुमा द्रुत गतिको निःशुल्क वाइफाई क्षेत्र बनाउने।
५. बाटो विस्तार पीडित समुदायसँग वार्ता गरी जनभावना अनुसार समस्या समाधान गर्ने।
६. साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ गर्ने।
७. महानगर योजना आयोग गठन गरी कामको सुरुवात गर्ने।
८. महानगरपालिकाको आफ्नै पूर्वाधार कमिटी गठन गर्ने।
९. महानगरपालिकाको आफ्नै लगानी कम्पनीको स्थापना गर्ने।
१०. महानगरपालिकाको नयाँ सांगठनिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र परिचालन गर्ने।
११. महानगरपालिकाको सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स प्रणाली सुरु गर्ने र सम्पूर्ण कार्यकक्षहरुमा सिसिटिभी जडान गर्ने।
१२. प्रत्येक युवाहरुलाई कुनै न कुनै खेल, शारीरिक व्यायाम, व्यावसायिक तालिम, हस्तकला, ललितकला, प्रविधि लगायत विभिन्न रचनात्मक कामहरुमा आबद्ध गराउने गरी कार्यक्रम ल्याउने।
१३. समय सापेक्ष रोजगारमूलक वातावरण सिर्जना गर्ने र युवाहरुको अनलाइन रोजगार सूचना केन्द्र सुरुवात गरिनेछ।
१४. खेलकुद क्षेत्रमा विषेश प्रतिभा र योगदान पुर्याउने व्यक्तिहरुलाई नियमित सहयोगको लागि पुरस्कार तथा प्रोत्साहनका लागि अक्षय कोष स्थापना गर्ने।
१५. नागरिक सुरक्षाको लागि नेपाल प्रहरीसँग समन्वय गरी महानगरका संवेदनशील स्थलहरुमा सिसिटिभी जडान गर्ने कार्य प्रारम्भ गर्ने।
१६ स्वयम्भू, बौद्ध, पशुपति र वसन्तपुर लगायतका धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाई कार्य शुभारम्भ गर्ने।
१७. सार्वजनिक–निजी साझेदारीको नीति अवलम्बन गर्ने।
१८. जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीहरु सहितको ुमिनी असन बजारु भिन्न ठाउँहरुमा स्थापना गरी सञ्चालनका लागि अध्ययन गर्ने।
१९. भित्री सहरको हरेक ५०० मिटरमा र बाहिरी सहरमा आवश्यकता अनुसार सार्वजनिक–निजी साझेदारीको ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अघि बढाउने जसमा महिला, अपांगता भएका, वृद्ध, बालकालिकामैत्री, डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाव संकलन डेस्क, वैटिङ मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्री वाइफाई, स्याक्स बार, मेन्ट्रक्सन प्याडको व्यवस्था गरिनेछ।
२०. धर्मपथस्थित पुरानो कामनपाको जग्गामा पूर्वस्वीकृत नक्सा अनुसार भवन निर्माण सुरु गर्ने।
२१. महानगरपालिकाका करदाताको सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था गर्ने।
२२. महानगरबाट सञ्चालित चःमति, मनोहरा लगायतका स्थानहरुमा अवरुद्ध ल्यान्डपुलिंगको कार्यलाई यथाशीघ्र सम्पन्न गर्ने।
२३. घरघरमा 'अचम्मको सियो र घरघरमा गज्जबको चुलो' कार्यक्रम सञ्चालन गर्ने।
२४. मेलम्ची आयोजना लगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डीहरु पुर्ने, विशेष प्रविधिको प्रयोग गरी धुलो र खाडलरहित सडक निर्माण गर्ने।
२५. सही समय सही ठाम, नो ट्राफिक जामु को अभियान सुरु गर्ने।
२६. सडक बाटोमा थुपारिएका निर्माण सामग्री हटाउने।
२७. हाल पेन्डिङमा रहेको मुद्दाहरुलाई १०० दिनभित्र टुंग्याउने।
२८. प्रत्येक वडामा विषयगत दक्षता सहितको महानगर स्वयंसेवक घोषणा गरी परिचालन गर्ने।
२०. प्रत्येक घरमा अनिवार्य वर्षेपानी संकलनको अभियान सुरु गर्ने, संकलनबाट बढी भएको पानी भूमिगत जल भण्डारण गर्ने अभियान थाल्ने।
३०. घर–घरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेप्टीट्याङ्की जडानको अभियान सुरु गर्ने।
३१. चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा नेपाल सरकारसँग समन्वय गरी बाल मनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग वाणिज्य महासंघका सहकार्यमा बृहद् प्रदर्शनी केन्द्रको निर्माणको पहल गर्ने।
३२. भोकरहित जनता शोकरहित महानगरुका लागि सुपथ मूल्यको मेयर फुड पार्लर खोल्ने प्रक्रिया आरम्भ गर्ने।
३३. राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने।
३४. राजस्व अध्ययन बोर्ड बनाई अनुसन्धान अध्ययनको थालनी गर्ने।
३५. काठमाडौंको बारेमा जानकारी दिने मोबाइल एप सुरु गर्ने।
३६. स्मार्ट भर्टिकल कार पार्किङ नीति निर्धारण गरी कार्यान्वयन गर्ने।
३७. महानगरका विशेष स्थानमा भेहिकल फ्री जोन घोषणा गर्ने।
३८. काठमाडौं महानगर झिलिक्क स् घर घर टिलिक्कु अभियानको थालनी गर्ने। सरकारी सार्वजनिक भवनमा रङरोगन गर्ने र आम नागरिकलाई आह्वान गर्ने।
३९. धरहरा प्रिमिसेशको मास्टर प्लान बनाई कार्यान्वयन गर्ने।
४०. काष्ठमण्डप निर्माणमा महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा पुनर्निर्माण गर्ने।
४१. सम्पदा पुननिर्माण जनसहभागितामा जनसहभागितामा विल्ड ब्याक बेटर अवधारणा अनुसार कार्यान्वयन गर्ने।
४२. भूकम्पले नष्ट गरेको र असुरक्षित घरहरुको पुनर्निर्माणका लागि राज्यले व्यवस्था गरेको अनुदान र सहुलियत ऋण प्राप्तिका लागि सहजीकरण गर्ने।
४३. नदी किनारमा रहेका मठमन्दिरको संरक्षणसहितको बाग्मती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थालनी गर्ने।
४४. महानगर र गोकर्णेश्वरको समन्वय र सहकार्यमा तारेभीर परियोजनाु को प्रक्रिया अगाडि बढाउने।
४५. टोखा नगरपालिकासँग समन्वय/सहकार्य गरी टोखाको संस्कृति सम्पदा संरक्षण, प्रवर्द्धन एवं झोरस्थित बाणेश्वर 'वाटर फल पार्क' बनाउन प्रक्रिया अघि बढाउने।
४६. ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरुको 'नयाँ ललितपत्तनम' नामको आर्ट एन्ड क्राप्ट निर्माण प्रक्रिया सुरु गर्ने।
४७. काठमाडौ भित्री सहरको दक्षिणी भेगको 'क्वःने' को ऐतिहासिक क्लष्टरलाई आवश्यक प्रक्रिया पूरा गरी लाइभ म्युजियम डिक्लारेसन गर्ने।
४८. पुरातात्विक मापदण्ड अनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गर्ने।
४९. ऐतिहासिक दरबार हाइस्कुल पुनर्स्थापनाका लागि सार्वजनिक बहस गरी कार्य सञ्चालन गर्ने।
५०. इन्टरनेसनल आर्ट र कल्चरल हबको निर्माण थालनी गर्ने।
५१. भद्रकाली मन्दिर र परिसरको विस्तृत परियोजनाको सर्वेक्षण गर्ने।
५२. पूर्व अध्ययन भइसकेको हनुमानढोकाको पूर्ववत् प्रहरी कार्यालय परिसरलाई विशेष सांस्कृतिक क्षेत्रको रुपमा परिमार्जन गरी निर्माण कार्य आरम्भ गर्ने।
५३. निश्चित समयतालिका अनुसार यातायात सञ्चालन गर्न अपाग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्ने।
५४. कार पार्किङ मलको नीति बनाई कार्य प्रारम्भ गर्ने।
५५. जन्जालमुक्त सडक सञ्जालु कार्ययोजना प्रारम्भ गर्ने।
५६. निर्माणाधीन चक्रपथ विस्तारको कार्यलाई यथाशीघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने।
५७. भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म बागमती किनार हुँदै केवल बसको सम्भाव्यता अध्ययन आरम्भ गर्ने।
५८. सम्पूर्ण ट्राफिक लाइटलाई मर्मत गरी सुचारु गर्ने।
५९. क्लिन द सिटी अभियानको प्रारम्भ धुवाँधुलो न्यूनीकरण गरी नो मास्क सिटीको अभियानबाट सञ्चालन गर्ने।
६०. पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारस्थित बालुवा खानीलाई व्यवस्थापन गरी ुपाशुपत सरोवरु निर्माणका लागि पहल गर्ने।
६१. काठमाडौंलाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकका सामग्रीहरु व्यवस्थित रुपमा जम्मा गरेर राखे बापत महानगरपालिकाले किन्ने व्यवस्था गर्ने। कुहिने फोहरबाट जैविक मल उत्पादनका लागि महानगरपालिकाले अनुदान दिने साथै किन्ने व्यवस्था समेत गर्ने।
६२. सहरको सुन्दरता र दुर्घटना न्युनीकरणको लागि अव्यवस्थित पोल तथा तारहरुको उचित व्यवस्थापनको लागि आवश्यक खाका तयार गर्ने।
६३. ज्येष्ठ नागरिकहरुका लागि घरघरमा निःशुल्क सेवाको लागि महानगरपालिकाको स्वयंसेवकहरु परिचालन गर्ने।
६४. विपन्न, असहाय र विभिन्न कारणले बिचल्लीमा परेका नागरिकहरुलाई उच्च प्राथमिकतामा राख्दै आवश्यकता अनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धार कार्य प्रारम्भ गर्ने।
६५. राज्यको लगानी वा विभिन्न संघ–संस्थाबाट सञ्चालित, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, असहाय तथा अपाङ्गता भएका नागरिक संरक्षण केन्द्रको गुणस्तर वृद्धिका लागि अनुगमन गर्ने।
६६. महानगरपालिका, सम्बन्धित व्यवसायीको परिवार र संघसंस्थाको समेत साझेदारीमा सहरको तरकारी बजार, कल कारखाना, शिक्षण केन्द्र, स्वास्थ्य केन्द्र नजिकै 'शिशु स्याहार र बाल विकास केन्द्र' सुचारु गर्ने।
६७. महानगरलाई दुर्व्यसनमुक्त सहर बनाउन रोकथाम र निर्मूल पार्ने योजना बनाई कार्यारम्भ गर्ने।
६८. सेवानिवृत्त कर्मचारी, ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै वहाँहरुको ज्ञान, सीप अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लब, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्ररव्यायामरयोगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदि सहितको सुविधासम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने।
६९. हेल्लो मेयर क्विक रेस्पोन्स कार्यक्रम सञ्चालन गर्ने।
७०. महानगरका सरकारी र सार्वजनिक ठाउँहरुलाई बाउन्ड्री लेस गार्डेनका रुपमा विकास गर्ने।
७१. घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिनाभित्र प्रदान गर्ने।
७२. महानगरपालिका भवन निर्माण कार्य प्रारम्भ गर्ने।
७३. नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट स्थल बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्ने।
७४. प्रेम दिवस लगायत अन्य विभिन्न दिवसको अवसर पारी युवा जोडीहरुलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियाली सहितको नगर निर्माण गर्न बिरुवा, फलफूल वा फूलहरु रोप्ने व्यवस्था मिलाउने।
७५. छाडा जीवजन्तु तथा फोहोरमैला लगायत समस्याहरु तत्काल समाधान गर्ने।
७६. घरबाट आएको कुहिने फोहोरको व्यवस्थापन गरी जैविक मल बनाउने प्लान्ट राख्ने अनिवार्य व्यवस्था गर्ने। त्यसका लागि महानगरले प्राविधिक सिप र प्रविधिका लागि अनुदान दिने।
७७. महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने सम्पदा मार्गको पूर्वघोषित कार्यक्रममा आवश्यक परिमार्जन गरी भ्रमण प्याकेजसहित दक्ष पथप्रर्दशक सहितको सुविधासम्पन्न टुरिष्ट बस सञ्चालन गर्ने।
७८. काठमाडौं महानगर र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा सटल बसको व्यवस्थासहितको सहिद स्मृति पार्क र पृथ्वीनारायण स्मृति सङ्ग्रहसहितको युवा पार्क निर्माण गर्ने।
७९. तीनकुनेको जग्गाको समस्याको समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरुवात गर्ने।
८०. अपांगमैत्री पार्क निर्माण कार्य आरम्भ गर्ने।
८१. कौसी खेती तथा गार्डेनः घरघरमा जैविक तरकारी खेतीु को लागि आवश्यक बाकस, मल, प्लाष्टिक टनेल सहितको प्रविधिका लागि प्रोत्साहन स्वरुप अनुदानको व्यवस्था गर्ने। न्युन शुल्कमा बिरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने।
८२. अव्यवस्थित र असुरक्षित भविष्यको कारण जीवनदेखि निराशाका कारण बढ्दै गइरहेको मानसिक समस्याहरुको रोकथाम र उपचारको लागि उचित प्रबन्ध गर्ने।
८३. हिंसापीडित महिलाहरुको तत्काल उद्धार र पुनर्व्यस्थापन गर्ने।
८४. तरकारी, फलफूल र खाद्यान्नमा विषादी नियन्त्रणका लागि परीक्षण गर्ने व्यवस्था मिलाउने।
८५. राजधानी महानगरलाई देशका सबै नेपालीको साझा मैत्रीनगरको रुपमा विकास गर्न सातै प्रदेशको लागि ुप्रदेश भवनु निर्माणका लागि प्रक्रिया थालनी गर्ने।
८६. पुरानो बसपार्कमा प्रस्तावित काठमाडौं टावर निर्माण सम्बन्धमा जनभावनाको कदर गर्दै काम सुरु गर्ने।
८७. महानगरभित्रका सबै होलसेल मार्केटहरुलाई यातायात सुविधासहित व्यवस्थित गर्ने।
८८. गोंगबु बसपार्कको मास्टर प्लानको परिमार्जन सहित अघि बढाउने।
८९. स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न साना तथा घरेलु, मझौलास्तरका उद्योग, व्यापार–व्यवसायहरुको लगत संकलन गरी कार्ययोजना अघि बढाउने।
९०. परम्परागत शिल्पी तथा व्यवसायमा आबद्ध नागरिकलाई आधुनिक प्रविधि एवं पुँजी निर्माणमा सहजीकरण गर्ने।
९१. मझौला तथा साना व्यवसाय सुरु गर्नेहरुलाई लगानीमैत्री विनियमहरु बनाउन सुरु गर्ने।
९२. बागबजारस्थित भक्तपुर बस पार्कको नयाँ व्यवस्थापन गर्ने।
९३. होम एड्रेसिङ प्रणालीलाई व्यवस्थित गर्ने।
९४. डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागू गर्ने।
९५. भूकम्पप्रतिरोधी भवन निर्माणका लागि महानगरपालिकाले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन कार्यविधि तयार गर्ने।
९६. काठमाडौँ स्मार्ट सिटिजन कार्ड कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशीघ्र सुरु गर्ने।
९७. हाइड्रोजन फ्युलको सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्यारम्भ गर्ने।
९८. स्मार्ट सिटीको पूर्वाधारको लागि चाहिने महानगर बोर्डब्याङ्कको स्थापना गरी प्रारम्भ गर्ने।
९९. पत्रकारहरुका लागि सम्पूर्ण सुविधासहितको व्यावसायिक सुविधासहित सञ्चार केन्द्रको कार्ययोजना सुरुवात गर्ने।
१००. चौबीस घन्टे जीवन्त सहरु को योजनाको निर्माण गर्ने।
१०१. महानगर मातहतका हरेक कार्यालयहरुलाई आधुनिक, चुस्त, जनमैत्री र प्रविधिमैत्री कार्यालयको रुपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।