वीरगञ्ज- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि व्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन्। आइतबार पर्साको वीरगञ्जमा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुनेसमेत उल्लेख गरे।
सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको उनले बताए। पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको बताए।
नेकपा भित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो। व्यक्ति परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए। थापाले भने, 'हामी आफैँ देश बनाउन सक्छौँ। राप्रपालाई विश्वास गर्नुस्। हिन्दुराष्ट्र दिन्छौँ, राजसंस्था दिन्छौँ। विकास र समृद्धि दिन्छौँ।'
थापाले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखी विप्लव, काङ्ग्रेस कम्युनिस्ट, मधेशवादी सबै अट्ने व्यवस्था राप्रपाको चाहना भएको विचार व्यक्त गरे। कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजीव पराजुलीले मधेश र मधेसी जनताको हक हित र विकासको निमित्त राप्रपा नै आवश्यक भएको बताए। केन्द्रीय सदस्य नगिना यादव र जिल्ला अध्यक्ष सोमेश्वर उपाध्याय लगायतले बोलेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।