काठमाडौं- शुक्रबार नियुक्त भएका मन्त्रीहरुले सरकारको मुख्य काम प्रतिनिधिसभाको निर्वाचन गर्ने रहेको बताएका छन्। आइतबार आ-आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन सफल पार्नु र देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउनको निम्ति आफू सरकारमा आउनुपरेको बताए। देशको राजनीतिक प्रणाली नै धराशयी भई अराजकतातर्फ जाने सम्भावना भएकोले देशको प्रणालीलाई बचाउनको निम्ति आफू मन्त्रीको रुपमा मन्त्रालयमा आउनुपरेको बताए।
मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिनको लागि र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानु अनिवार्य आवश्यकता रहेको उल्लेख गरे। यस्तै, मन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसिसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। यसका साथै एमसिसी कार्यान्वयनमा लाग्नुपर्ने पनि उनको जोड छ।
शहरी विकास मन्त्री प्रभु साहले पनि सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताए। मन्त्रालयले निर्वाचन केन्द्रित काम गर्ने उनको भनाई छ। यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडि बढाउने मन्त्री साहले बताए। सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रूपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहले उल्लेख गरे।
खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गरिरहेको बताए। उनले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताए। मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताउनुभएको हो। राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दापनि राज्यलाई समृद्ध बनाउन तर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालको भनाइ छ।
युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। यस्तै कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले उल्लेख गरे। खरिद प्रक्रियामा आफुलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत उनको भनाई छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले समृद्ध नेपाल निर्माणका लागि उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने उल्लेख गरिन्। कोभिडका कारण विदेशबाट फर्किएका उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याउुनुपर्ने दायित्व मन्त्रालयको भएको उनको भनाइ छ। मन्त्री अर्यालले रासायनिक मलको विषयमा किसानहरुको मागलाई सम्बोधन गरी सधैका लागि समस्या समाधान गरिने पनि बताए। त्यसका लागि सात वटै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको रासायनिक मल भण्डारको स्थापना गर्ने समेत मन्त्री अर्यालले बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए। केही नयाँ मन्त्री नियुक्त भएका हुन् भने केहीलाई मन्त्रालय हेरफेर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।