काठमाडौं– संसद पुनर्स्थापनाको पक्षमा रहेका सबै शक्ति सामुहिक आन्दोलनमा जानुपर्ने जनता समाजवादी पार्टीले जोड दिएको छ।
एकल प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिने आशंका राखेका जसपाले सरकार बाहिर रहेका सबै दल एक ठाउँमा उभिनुपर्ने जनाएको छ। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै सडकमा ओर्लेको जसपाले प्रचण्ड–माधवदेखि कांग्रेससम्मलाई संयुक्त आन्दोलनको लागि आह्वान गरेको छ।
जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले चिन्नै नसकेको बताए।
प्रतिनिधि सभा विघटनविरुद्ध शक्ति प्रर्दशन गर्ने क्रममा काठमाडौंमा नेता भट्टराईले प्रचण्ड–माधवमा अझै पनि भ्रम पालेको प्रति आशंका गरे। मन्त्रिपरिषद बैठकले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे लगत्तै नेता भट्टराईले असंवैधानिक कदमको विरोधमा रहेका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर प्रतिरोध गर्नुपर्ने भिडिओ सन्देशमा व्यक्त गरेका थिए।
आइतबार आयोजित विरोध प्रर्दशन पछिको सभामा पनि भट्टराई सोहि कुरालाई दोहोर्याए। सर्वोच्च अदालतप्रति आशंका व्यक्त गदैं भट्टराईले सडकबाटै दबाब बढाउन जोड दिनुपर्ने बताए। प्रतिनिधि सभा विघटन विरुद्ध सामुहिक आवाज मुखरित गर्न जसपा,प्रचण्ड–माधव र कांग्रेस सडकमा संयुक्त रुपमा ओर्लनुपर्ने उनले बताए। कांग्रेसले चुनावपछि ठूलो दल हुने भ्रम पालेको बताउँदै उनले त्यसलाई त्याग्न आग्रह गरे। कांग्रेसप्रति लक्षित गरि उनले भने,‘नहुने चुनावको पछि कांग्रेसले भ्रम नपाले हुन्छ। झर्ला र खाउँला भन्ने आश नराखौं।’
विघटनको औपचारिक घोषणा नभएपनि नेकपामा विभाजित भइसकेको छ। विघटन भइसकेपनि ओलीप्रति प्रचण्ड माधव समुहले झिनो आशा पनि नराख्न उनले आग्रह गरे। प्रचण्ड– माधव नेकपाले सच्चिएर आए ओलीलाई ठाउँ दिने निर्णयप्रति उनले रोष प्रकट गरे।
‘केपी ओलीको भ्रमबाट ढिलै भएपनि प्रचण्ड र माधवकुमार नेपाल थोरै मुक्त हुनुभएको छ। अझै केपी ओली आउँनुभयो भने मिलेर जान सकिन्छ भनेर बोल्दै हिड्नु भएको छ,’ भट्टराईले भने, ‘केपी ओलीले गोदेका गोदेकै छन्। ठोकेका ठोक्यै छन्। खड्गप्रसादले खड्ग प्रहार गरेका गर्यै छन्। उहाँहरुले आउँनुस् मिलेर जाऔँ भन्दै हुनुहुन्छ। केपी ओलीले तपाईंहरुको टाउँकोमा हान्न मात्रै बाँकी छ।’
केपी ओलीलाई छोडेर संयुक्त आन्दोलनमा आउन प्रचण्ड-माधवलाई भट्टराईले आग्रह गरे। ‘संयुक्त जनआन्दोलन बिना यो प्रतिगमन सच्चिनेवाला छैन।
राजा महेन्द्रको प्रतिगमन हटाउन ३० वर्ष लाग्यो। पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमन ४ वर्षभित्रै सडकबाटै गुल्ट्यायौँ,’ उनले भने, ‘केपी ओलीको प्रतिमगनलाई केही वर्ष होइन। केही महिनाभित्र हामीले उल्ट्याउन सक्छौँ।’
पञ्चायतमा राजाले चुनाव गर्दा पनि आफूहरु सहभागी नभएको बताउँदै भट्टराईले ओलीले गराउने चुनावमा सहभागी नहुने दाबी गरे। ‘पञ्चायतले चुनाव गराएको थियो। भाग लिएनौँ। यो चुनाव विषको घैँटामा माथिल्तिर अलिकति अमृत राखे जस्तो हो। त्यो माथि राखिएको अमृतमा भुल्नुहुदैन। चुनाव भ्रम हो,’ भट्टराईले चुनावको विरोध गर्दै भने, ‘ओलीले आफूलाई सुदृध गर्ने आफ्नो सर्वसत्तावादी कायम गर्ने हो। केपी ओलीलाई आफ्नो प्रभुत्व जमाएको अनुभूति हुँदैन। त्यसपछि मात्रै चुनाव हुन्छ।’
संसद ब्युँताउन सभामुखले सक्ने बताएका भट्टराईले त्यसका लागि विघटन विरुद्धमा दलहरु एकठाउँ हुनुपर्ने उनले बताए।
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरि प्रधानमन्त्रीले प्रतिनिधि सभा माथि प्रधानमन्त्रीले खड्ग प्रहार गरेको जसपाका वरिष्ठ नेता अशोक राईले बताए। उनले अहिलेको कदम संवैधानिक कदम खारेज हुनुपर्ने बताए। ‘विघटित प्रतिनिधि सभा पुनः स्थापित हुनुपर्छ। कानुनी हिसाबले संसद जिउँदो छ’, उनले भने। उनले प्रतिनिधिसभा विघटनलाई ‘विवाहमा बजाइने पञ्जेवाजा मलामीमा बजाइएको’ जस्तै भएको बताए।
जसपाका अर्का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली नश्लवादी भएको आरोप लगाए। संविधान प्रतिगमनकै रुप रहेको जनाउँदै महतोले प्रधानमन्त्रीको कदम प्रतिगमनको पनि प्रतिगमन भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।