मुम्बई– बलिउडमा कमै कलाकार होलान, जो रञ्जित गजमेरको विषयमा अनभिज्ञ छन् । हिन्दी फिल्ममा सबैभन्दा पहिले मादल प्रवेश गराउने श्रेय जान्छ, गजमेरलाई। उनले भारतका लोकप्रिय कलाकार देव आनन्द अभिनित फिल्म ‘हरे कृष्ण हरे राम’ को चर्चित गीत ‘कान्छी रे कान्छी रे’ मा मादलको आवाज दिएका थिए।
मुम्बईमा बसेर नेपाल र नेपाली संस्कृति तथा लोकबाजाको प्रवद्र्धन गर्ने सबैभन्दा ठूलो हात कसैको छ भने ती गजमेर नै हुन् । उनै गजमेरसँग मुम्बईमा भेट्ने सौभाग्य मिल्यो।
गफकै सिलसिलामा थाहा भयो, उनको शरीर मात्र मुम्बईमा रहेछ। आत्मा पुरै नेपाल र नेपाली संगीतमा समर्पीत रहेछ । उनले मुम्बईमा अनगिन्ति हिन्दी गीत र भोजपुरीमा संगीत भरेका छन् । तर, उनलाई नेपाली गीतमा संगीत भर्दा जति आनन्द लाग्छ, त्यो अन्य गीतमा लाग्दैन रहेछ।
मुम्बईमा भए पनि उनी यहाँ हुने नेपाली कार्यक्रम छुटाउँदैनन् । ७६ वर्षमा पनि उनको सक्रियता देखेर लोभिनेको कमि छैन् । दार्जिलिङमा जन्मेर हुर्के पनि गजमेरले आफ्नो कर्म क्षेत्र नेपाललाई नै बनाएका थिए । त्यसैले उनले सन् १९८१ मा तुलसी घिमिरेको डेब्यु फिल्म 'बाँसुरी'बाट नेपाली चलचित्रमा सुरु गरेको आफ्नो करिअरलाई अहिले पनि यथावत् राखेका छन्।
उमेरका कारण निश्चय पनि उनी पहिले जस्तो सक्रिय छैनन् । तर, उनले नेपाली फिल्ममा सयभन्दा बढी गीतमा आफ्नो संगीत दिइसकेका छन्। जसमा 'सम्झना', 'कुसुमे रुमाल', 'बासुदेव', 'साइनो', 'लाहुरे', 'चिनो', 'दुई थोपा आँसु' र 'कोसेली', 'दर्पण छाया' जस्ता फिल्म रहेका छन्।
उनी अहिले पनि घरमा एक्लै बस्दा हार्मोनियममा ‘वीरताको चिनो वीरको सन्तान, शहीदको रगत, लाहुरेको निशानी’ बजाउँदा रहेछन् । उनलाई भेट्ने क्रममा भन्दै थिए,‘नेपाली जाति संसारको कुनै कुनामा गए पनि निष्ठाका साथ बाच्न सक्छन्।’
दार्जिलिङका नेपालीहरुले संगीतलाई आफ्नो कर्म रोजे भने काठमाडौं जानु अनिवार्य सर्त हो । यही सर्तको पालना गर्दै गजमेर पनि १९६६ मा नेपाल प्रवेश गरेका थिए । उनले लामो समय रेडियो नेपालमा काम गरे । रेडियो नेपालमा काम गरेको त्यो क्षण अहिले पनि आफ्नो दिमागमा आइरहने उनी बताउँछन्।
‘रेडियो नेपाललाई व्यवस्थित गर्न नातिकाजीको ठूलो हात छ नि भाइ’, उनले भने । गफिँदै जाँदा उनी सिंहदरबारभित्र रहेको रेडियो नेपालको बाहिरको चौरमा जाडो महिनामा घाम ताप्दै चिया पिएको घटना सम्झेर उत्तेजित भए।
‘त्यो क्षण अहिले पनि आँखामा नाच्ने गर्छ। मलाई त्यतिबेलाको समय खुब राम्रो लाग्छ’, केही भावुक हुँदै उनले भने। उनले जीवनमा धेरै उतारचढाव देखेका छन् । रेडियोमै काम गरिरहेको बेला बलिउडमा ख्याती कमाएका सेक्साफोनका भिष्मपिता मानिने मनोहरि सिंहले सन् १९६९ मा मुम्बई बोलाएका थिए।
मनोहरिले नै गजमेरलाई पहिलो पल्ट बलिउडका चर्चित संगीतकार आरडी बर्मनसँग भेट गराएका थिए । सन् १९८२ मा ‘हरे कृष्ण हरे राम’ को संगीत तयार पार्ने बेला बर्मनलाई मादल राम्रो बजाउने संगीतकारको आवश्यकता परेको रहेछ। मनोहरीकै सिफारिसमा बर्मनले नेपालबाट गजमेरलाई झिकाउन लगाए।
त्यतिबेला बर्मनलाई ‘कान्छी रे कान्छी रे’ बोलको गीतमा मादल बजाउने कलाकारको आवश्यकता परेको रहेछ । त्यतिबेलाको घटना सम्झिँदै उनी भन्छन्, ‘मलाई सुरुमा धेरै डर लागेको थियो। तर पनि बजाए। उनलाई मैले बजाएको धुन खुब मन परेछ । ओके भनेपछि त्यो गीतमा मैले मादलको आवाज दिने अवसर पाएँ।’
वास्तवमा त्यो दिन गजमेरको मादलको मिठो आवाज बर्मनको कानमा निकै लामो समय गुन्जिएको रहेछ । त्यसैले उनले आफ्नो कुनै फिल्म भयो कि गजमेरलाई मादल बजाउन बोलाइहाल्थे। बर्मनको थुप्रै गीतमा मादलको आवाज सुन्न सकिन्छ । यसको कारण गजमेर भएको घाम जतिकै छर्लङ्ग छ।
‘हरे कृष्ण हरे राम’ को सम्पूर्ण गीत सुपर हिट भएपछि बर्मनले गजमेरको नाम नै कान्छा राखिदिएका थिए।
‘आज आरडी बर्मन छैनन् । तर, उनले देखाएको मार्ग मेरो लागि बाच्ने आधार बनेको छ,’ बर्मनको कुरा गर्दा पनि भावुक देखिएका गजमेरले भने।
‘हरे कृष्ण हरे राम’ को सफलतापछि गजमेरलाई अजनवी फिल्मको अर्को चर्चित गीत ‘हम दोनो दो प्रेमी दुनिया छोडचले’ मा फेरि मादल बजाउन लगाएका थिए, बर्मनले । उनले आफ्नो अन्तिम हिन्दी फिल्म ‘१९४२ अ लभ स्टोरी’ को ‘एक लडकिको देखा तो ऐसा लगा’ गीतमा पनि मादल बजाएका थिए । उनले छुट्टिनुअघिसम्म नेपाल र नेपालीकै विषयमा लामो गफ गरे । र, भने ‘म नेपाल निकै मिस गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।