काठमाडौं- सत्तारुढ दलभित्रको विवाद उत्कर्षमा पुग्दै प्रतिनिधिसभा विघटन र दल विभाजनको अवस्थामा पुग्दा त्यसको नकारात्मक प्रभाव शासन व्यवस्था सञ्चालनमा देखिन थालेको छ। विकसित राजनीतिक घटनाको उपजस्वरूप ७ मन्त्रीले राजीनामा दिइसकेका छन् भने बाँकी मन्त्रीहरूले पनि मन्त्रालयको काममा समय दिन भ्याएका छैनन्।
'पार्टीभित्रको समस्याका कारण मन्त्रीहरू अत्यावश्यक अवस्थामा बाहेक मन्त्रालय आउन छाडेका छन्,' सरकारका एकजना सचिवले भने, 'कर्मचारीले मात्रै मन्त्रालय चलाउँदा जस्तो अवस्था हुन्थ्यो अहिलेको अवस्था त्यस्तै छ।'
अहिले बहालवाला मन्त्रीमध्ये अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेकपाका केन्द्रीय महासचिव हुन्। मन्त्री पौडेल सोमबार विश्व बैंकका नेपाल प्रतिनिधिसँगको भेटघाटका लागि मन्त्रालय उपस्थित भए पनि त्यसपछि बालुवाटर नै फर्किए। अघिल्लो साता बुटवल गएर फर्केका उनी त्यसयता मन्त्रालयमा बस्न भ्याएका छैनन्।
त्यस्तै रामबहादुर थापा बादल सचिवालय सदस्य छन्। उनी पार्टीको 'कोर अफ दि लिडरसिप'का नेताहरू भएकाले ठूला विवादमा सधैं पार्टीकै काममा व्यवस्त छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेकपा सचिवालय सदस्य भए पनि उनको राजकीय जिम्मेवारीमा भूमिका नभएकाले सत्ता सञ्चालनमा उनको भूमिकाका कारण फरक परेको छैन।
त्यसका अतिरिक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेकपाका स्थायी कमिटी सदस्य हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र उनी पनि मन्त्रालयका कामका अतिरिक्त पार्टीका काममा व्यस्त छन्। मन्त्री ज्ञवालीले पार्टीभित्रको विवाद बढ्दै जाँदा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद बढ्दा दूतका रूपमा काम गरिरहेका थिए।
मन्त्रीहरू मन्त्रालयको भन्दा पार्टीको काममा धेरै व्यस्त हुँदा दैनिक प्रशासन चलाउनेबाहेक अन्य कुनै पनि ठूला विषयमा छलफल भएको छैन। 'यस्तो अवस्थामा कुनै ठूलो निर्णय हुने भन्ने त छैन, आवश्यक पर्दा पनि छलफल गर्न पाइँदैन,' एक सचिव भन्छन्।
प्रधानमन्त्री केपी शर्मा ओली पनि २०७६ फागुनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गएका छैनन्। दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीले राजकीय तथा राजनीतिक कामकाज बालुवाटारस्थित सरकारी निवासबाटै गर्दै आएका छन्।
राजनीति तरल भएका बखत कर्मचारीतन्त्रले बलियो रूपमा प्रस्तुत भएर काम गर्नुपर्ने पूर्व मुख्यसचिव डा विमल कोइराला बताउँछन्। 'कर्मचारी प्रशासनले बलियो रूपमा प्रस्तुत हुनुपर्ने हो, तर हाम्रोमा जस्तो राजनीति छ, त्यस्तै कर्मचारीतन्त्र छ,' कोइराला भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।