काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डबीच पुनः भेटवार्ता हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अध्यक्षद्वयबीच पुन भेटवार्ताको तयारी भइरहेको जानकारी दिएका हुन्।
‘अहिले प्रधानमन्त्रीज्यू राष्ट्रपतिज्यूकहाँ हुनुहुन्छ। प्रचण्ड कमरेड खुमलटार खाना खान जान्छु भनेर बाहिरिनु भएको हो। छोटो भेटघाट पनि सकाएर आउँछु भन्नु भएको छ,’ मन्त्री भट्टराईले भने, ‘फेरि दुई अध्यक्षबीच पार्टी विवादका विषयमा छलफलमा जुट्ने भन्नु भएको छ।’ उनका अनुसार आइतबारै भेटघाटको तयारी छ। तर कुन समयमा भेटघाट हुने भन्ने चाहिँ तय नभएको उनले बताए।
यता प्रधानमन्त्री निवासबाट बाहिरिएका प्रचण्ड’र वरिष्ठ नेता झलनाथ खनालबीच खुमलटारमा भेटवार्ता भएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि प्रचण्ड र खनालबीच छलफल भएको हो।
बालुवाटारबाट प्रचण्ड फर्किएपछि नेता खनाल खुमलटार पुगेका हुन्। उनीहरूबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले भने प्रचण्डसँगको भेटपछि मन्त्रिपरिषद् बैठक राखेका थिए। यसपछि लगत्तै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितल निवास पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।