काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु हुन सकेको छैन। दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ बजिसक्दा समेत सुरु हुन नसकेको हो।
'बैठक सुरु भएको छैन। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई कुरिरहेका छौं', स्थायी कमिटी सदस्य गणेश साहले भने।
उनले आफूहरु ओली बैठकमा उपस्थिति हुने आशा रहेको उनले बताए।
उनका अनुसार प्रचण्ड, अन्य वरिष्ठ नेताहरु तथा सदस्यहरु बैठक हलमा ओलीलाई कुरिरहेका छन्।
ओलीले भने प्रचण्डको प्रस्तावमा छलफल हुने बैठकमा आफू नआउने स्पष्ट पारेका छन्। बैठकअघि उनले प्रचण्डलाई सो सन्देश दिएका हुन्।
गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता हुनुपर्ने ओलीको अडान छ। त्यसलाई उनले आरोपपत्रको संज्ञा दिएका छन्।
आजको बैठक भने ओली अनुपस्थित भए पनि सञ्चालन गर्ने प्रचण्ड र माधन नेपाल पक्षको तयारी छ। अबको केही बेर ओलीलाई कुर्ने तर उनी नआए प्रचण्डले एकल रुपमा भए पनि बैठक चलाउने तयारी गरेको एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।