काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याउनु सर्वसत्तावाद र निरंकुशतातर्फ अघि बढेको प्रमाण भएको बताएका छन्।
मंगलबार ट्विट गर्दै पौडेलले संवैधानिक परिषदको मूल मर्मविपरीत संवैधानिक निकायमा आफू अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद् अधिवेशनलाई छल्नका लागि हतारहतारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको टिप्पणी गरेका छन्।
‘सर्वसत्तावाद र निरकुंशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो,’ पौडेलले लेखेका छन्, ‘यस्ता कार्यको म घोर विरोध गर्दछु।’
मंगलबार बिहान बालुवाटार पुगेका सभापति देउवाले नयाँ अध्यादेश ल्याउने विषयमा असहमति प्रकट गरेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा निर्णय गराएर राष्ट्रपतिलाई सिफारिस गरेका थिए। लगत्तै राष्ट्रपति भण्डारीले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी थिइन्। यो समाचार तयार पार्दासम्म अध्यादेश राजपत्रमा प्रकाशन भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।