काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउ गरेका छन्। प्रवक्ता श्रेष्ठलाई हाइड्रोपावर कम्पनीसँग मुछेर अनावश्यक रूपमा दुष्प्रचार गर्न खोजिएको उनले बताएका हुन्। स्थायी कमिटी बैठकमा पार्टी केन्द्रीय सदस्य कमानसिंह लामाबारे शोक मन्तव्य राख्ने क्रममा प्रचण्डले हाइड्रोपावरसँग सम्बन्धित सामान्य विवादमा प्रवक्तालाई मुछेकोमा आपत्ति जनाएका हुन्।
‘कमानसिंहजीको निधनबाट शाकाकुल भएकै बखत कमरेड लामा र एउटा हाइड्रोपावर आयोजनासँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ, त्यो प्रचारको भ्रममा नपर्न त्यो प्रचारमा नलाग्न अनुरोध गर्नु भएको छ,’ बैठकपछि प्रवक्ताले श्रेष्ठले भने, ‘हाइडोपारको व्यक्तिलाई राखेर प्रवक्ताले कुरा गरेको प्रवक्ताले तपाईंहरू आफ्नै साथी भएकाले मिल्नुस् भन्नु बाहेक केही भन्नु भएको छैन। त्यस्तोमा अनावश्यक रुपमा मुछ्नुको अर्थ छैन।’
नेकपा केन्द्रीय सदस्य एवम् दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामाले सिन्धुपाल्चोकमा निर्माण भइरहेको याम्बालिङ जलविद्युत आयोजना आफैं दर्ता गरेका थिए।
निर्माणाधीन ७ मेगावाट क्षमताको आयोजनाका लागि लामासँग पैसा नभएपछि अगाडि बढ्न सकेको थिएन। त्यसपछि उनले प्रवक्ता श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यसँग कुराकानी अघि बढाएको बुझिएको छ।
सुसनले बैंकबाट २ करोड ऋण लिएर परियोजना अगाडि बढाएकी थिइन्। बाँकी ५० लाख रुपैयाँ मात्रै लामालाई दिन बाँकी रहेको सुसनको भनाइ थियो। तर, लामाले आफूलाई २ करोड ५० लाख रुपैयाँ चाहिन्छ भनेपछि विवाद बल्झिएको श्रेष्ठ निकट स्रोतले जनाएको छ। त्यही विवाद कर्माचार्य र लामाबीच मिल्न नसकेपछि श्रेष्ठकहाँ मिलाउन गुहार मागिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।