काठमाडौँ- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई मिलाउन ओली निकट नेताहरु सक्रिय भएका छन्। दुई अध्यक्षबीच विवाद उत्कर्षमा पुगेपछि ओली निकट नेता प्रचण्डलाई भेटेर लबिङ थालेका हुन्।
पार्टी स्थायी कमिटी बैठकको अघिल्लो दिन अध्यक्ष प्रचण्डलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटेका छन्। शनिबार दिउँसो १२ बजे प्रचण्डलाई भेट्न पोखरेल खुमलटार पुगेका थिए। करिब आधा घण्टा छलफल गरेका पोखरेलले दुई अध्यक्ष मिल्नुको विकल्प नभएको बताएका थिए। प्रचण्डले पार्टी विवादका विषयमा पार्टी कमिटीमै छलफल भई त्यहीँबाट निकास निकाल्नुपर्ने बताएको अध्यक्ष प्रचण्ड सचिवालयले जनाएको छ।
प्रचण्डलाई मनाउन प्रधानमन्त्री ओलीले अर्का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, प्रदीपकुमार ज्ञवाली,पृथ्वीसुब्बा गुरुङलगायत नेताहरुलाई पनि परिचालन गरेका छन्। गत भदौ २६ गतेको निर्णयको वरिपरिबाट सहमति खोज्नुपर्ने बताउँदै आएका छन्। यदि त्यसरी सहमति नभए अर्को सहमति गरेर भएपनि दुई अध्यक्ष मिलेर जानुपर्ने प्रस्ताव गरेका छन्। तर, प्रचण्डले अहिलेकै अवस्थामा पुनः सहमतिपत्रको संख्या बढाउन नसकिने भन्दै ओलीनिकटका नेताहरूलाई फर्काउने गरेको प्रचण्ड निकट स्रोतको दाबी छ।
प्रचण्डले ओलीलाई एकल रुपमा नभई सामूहिक रुपमा भेट्ने बताएका छन्। यद्यपि प्रचण्डले ओलीलाई गत बुधबार मात्र पनि भेटेका थिए। दुई अध्यक्षबीचको भेटमा कुनै ठोस निर्णय नभएको बालुवाटार स्रोतले जनाएको छ।
गत २१ गतेको स्थायी कमिटी बैठकमा ओली सहमत नभई पत्रबाट सम्बोधन गरेका थिए। प्रचण्डले मंसिर ३ मा सचिवालय बैठकमा पेस गरेको प्रस्ताव फिर्ता लिई संयुक्त प्रस्ताव लगेर छलफल गर्नुपर्ने मर्मको ओली पत्र थियो। ओलीलाई बैठकमा सहभागी गराउन हप्तादिनको समय दिँदै मंसिर २८ सम्म बैठक स्थगित भएको थियो।
ओलीलाई दिइएको समयसीमा आइतबार घर्किने भएपनि अध्यक्ष ओली आइतबारको बैठकमा सहभागी हुने/नहुने टुंगो लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।