काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोरोना भाइरसका कारण नेपालको निजी क्षेत्रमा विभिन्न समस्या देखिएको र अर्थतन्त्र खुम्चिएको समेत बताएकी छन्। महासंघको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले अर्थतन्त्र खुम्चिएकोमा महासंघ चिन्तित रहेको बताइन्।
‘सरकार र निजी क्षेत्र मिलेर मात्रै कोरोनाले तहसनहस पारेको अर्थतन्त्रलाई सही दिशामा लैजान सकिन्छ,’ अध्यक्ष राणाले भनिन्, ‘कोभिड–१९ का कारण निजी क्षेत्र र सरकारलाई ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। महामारीको समयमा पनि व्यवसायीले बैंकको सावाब्याज भुक्तानी, तलब भुक्तानी, सरकारलाई बिजुलीको बिल र कर तिर्नुपर्ने अवस्था छ। जसले गर्दा निजी क्षेत्र समस्यामा परेका छन्। अर्थतन्त्रलाई सही दिशामा लैजनना सरकार र निजी क्षेत्रले साझेदारी गर्नुपर्छ।’
कोभिड–१९ पछि आर्थिक पुनरुउत्थानका लागि बजेट घोषणा र मौद्रिक नीतिमार्फत ल्याएको नीति पनि सकारात्म रहेको राणाको भनाइ थियो। ‘नेपालले कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गरेर निजी क्षेत्र र सरकार संयुक्त रूपमा अघि बढ्नै पर्छ,’ उनले भनिन्, ‘कोभिड–१९ ले आर्थिक वृद्धि खुम्चिने तथ्यांक सार्वजनिक भइसकेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार १६ देखि ३० लाख नेपाली कामविहीन हुने आँकलन गरेको छ। वैदेशिक रोजगारीका लागि गएका नेपाली फर्कने क्रम सुरु भएको छ। पर्यटन व्यवसाय धराशायी बनेको छ। जुन, पुरानै अवस्थामा फर्कन ५ वर्ष लाग्ने देखिएको छ।’
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई राष्ट्रिय सहमतिसहित छिटो पारित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले त्यसका लागि महासंघ सहयोग गर्न तयार रहेको र कोरोनापछि विश्व अर्थतन्त्र डिजिटलतर्फ धकेलिएकाले यसबाट नेपालमा प्रविधि उद्योगको विकास हुने राणाको तर्क छ। साथै उनिले अर्थतन्त्रलाई कसरी उठाउने भन्ने विषयमा सरकार र निजी क्षेत्रले सोच्नुपर्ने अवस्था आएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।