काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीको विवाद मिलाउनका लागि आवश्यक परे आफ्नो मन्त्री पदसमेत त्याग्न तयार रहेको बताएका छन्। मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै मन्त्री गुरुङले पार्टीको विवाद मिलाउनका लागि आफू लगायतका धेरै कार्यकर्ता त्याग गर्न तयार रहेको बताएको हुन्।
'स्थिर सरकारको मूल नेतृत्व परिवर्तनबाहेक मलगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौं,' उनको फेसबुक स्टाटसमा लेखिएको छ।
कोभिड संक्रमण बेला प्रतिपक्षी दलले पनि सहयोग गरिरहेको अवस्थामा आफ्नै पार्टीबाट असहयोग र विवाद झिक्ने काम भएको भन्दै उनले असन्तुष्टि पनि जनाएका छन्। यस्तै पार्टीका कार्यकारी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले गत शुक्रबारको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रचण्डको राजनीतिक प्रस्ताव स्थगित गर्न पनि उनले आग्रह गरेका छन्।
'कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,' स्टाटसमा लेखिएको छ।
पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न प्रधानमन्त्री एवम् अध्यक्ष ओली, प्रचण्डलगायत जिम्मेवार नेतासँग उनको आग्रह छ।
कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध...
Posted by Parbat Gurung on Tuesday, November 17, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।