काठमाडौं- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको पार्टीको सचिवालय बैठक सकिएको छ। दिउँसो ३ बजे सुरु भएको बैठक साढे ४ बजे सकिएको हो।
बैठकमा नेकपामा देखिएको पछिल्लो विवाद र सरकारका कामकारबाहीबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनले बैठकबारे विस्तृत रूपमा भने खुलाउन चाहेनन्।
बैठकमा प्रचण्डसहित पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका हुन्।
प्रचण्डले बोलाएको पार्टीको सचिवालय बैठकका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु भने सहभागी भएनन्। यसैगरी गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल पनि आजको धुम्बाराही बैठकमा गएका थिएनन्।
धुम्बाराहीमा प्रचण्डले बोलाएको बैठक चलिरहँदा महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल गृह मन्त्रालमा छलफल गरिरहेका थिए।
नेकपामा अध्यक्षद्वयबीच विवाद उत्कर्षमा पुगेका प्रचण्डले बोलाएको सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।