काठमाडौं- नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठकमा चार जना सचिवालय सदस्य अनुपस्थित भएका छन्। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीपक्षका उनीहरू अनुपस्थित भएका हुन्।
धुम्बाराहीमा प्रचण्डले अध्यक्षता गरिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित छन्। उनीहरू चारै जनाले बहिष्कार गरेपछि मन्त्री पद नभएकाहरू मात्र बैठकमा उपस्थित भएका हुन्।
९ सदस्यीय सचिवालयका बहुमत सदस्य भने कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठमा उपस्थित भएका छन्। पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले बोलाएको बैठकमा सचिवालयका ९ जना सदस्यमध्ये ५ जना उपस्थित भएका हुन्।
बैठकमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल र प्रवक्ता नारायण काजी श्रेष्ठ उपस्थित भएका छन्। बैठक केही बेरअघि मात्र सुरु भएको छ।
यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक सचिवालय बैठक डाकेको पार्टीका प्रवक्तासमेत रहेका नेता श्रष्ठले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।