घर आउँदिन त भने, खै कता कता मन एक्लिएको छ आमा
बद्लिएको घरको रङ्ग अनि गाउँको चहलपहलले उतै तानिरहेको छ बाबा
अनि सानो बाबुसँगै हुर्किएको बालापनले एकैछिनमा नराम्रो सङ्ग जिस्काएझैं भइरहेको छ दादा
सप्तमीको फुलपाती, अस्टमीको बली अनि नवमीको दुर्गा पुजापछिको मेलाको सम्झनाले मनमा नमिठो धुन बजाइरहेछ भाउजु
दशैंका रङ्गमा नयाँ लुगा लगाई मामाघर जाने उमङ्गहरुले गिज्ज्याइरहेछ बहिनी
विश्व महामारीको कुरुक्षेत्रमा लडिरहेको बेला ,म कहाँ मैदान छोडेर भाग्न पाउँछु र?
देशमा दशा चलिरहेको बेला म कहाँ दसैँ मनाउन पाउँछु र?
अहिले त मेरो परीक्षा चलिरहेको छ, मृत्युको मुखबाट मृत्यु खोसिकन
जन्म अनि सेवा धर्म सिद्ध गर्ने
निस्सासिएकालाई गुलाबी बनाउने
निलकण्ठी बन्दै रोगीलाई अमृत पिलाउने
हो यसपाली म आउन सक्दिन हजुरआमा
मैले रातो टिका थाप्दा थाप्दै
कसैको घरको रातो खोसियो भने
मैले नुनिलो मिठो स्वादमा रमाउँदा रमाउँदै कसैको घरमा १३ दिनलाई नुन बिरानो भयो भने
म यस्तो देख्न कहाँ सक्छु र?
म स्वार्थी बन्न कहाँ सक्छु र?
अरे यहाँ त...
घर जाने भनेर झोला भरि उमङ्ग प्याक गरेका साथी भोलिपल्ट पोजिटिभ आइदिँदा
म मेरो चिनी रोगी मेरा बाबालाई सम्झन्छु
म मेरी उच्च रक्तस्राव भएकी आमालाई सम्झन्छु
श्वास फेर्न गाह्रो भई जिउ सुन्निएर ओछ्यानमा ढलिरहने मेरी हजुरा'मालाई सम्झन्छु
एकैछिन घर फुत्त आउन किन सक्थिन र?
मभित्रै कोरोनाको जिवाणुबिना संकेत राज गरिरहेको रहेछ भने
ती जिवाणु तपाईंलाई बिना कसुर सारेँ भने
आफू त कोरोनालाई जसो तसो जितौंला रे
मेरा आफ्नालाई केही भयो भने
म जहाँ छु ठिक छु अहिले, आफ्ना नै रहेनन् भने
म आफूले आफूलाई कसरी माफ गर्न सक्छु होला?
बिनाकसुर आफ्नालाई कसरी पाप गर्न सक्छु होला?
चिन्ता नगर्नुस् ,
म यहाँ अस्पताल मै बिरामी अनि स्वास्थ्यकर्मी माझ मनाउँला दसैं
यही छन् कोरोनासुर दैत्य अनि स्वाथ्यकर्मीस्वरुपी नवदुर्गाहरू पनि
घरको टिका जमारा अनि मान्यजनले त्यतिका वर्षभरी दिएका आशीर्वाद अहिलेलाई त होनि
लाखौं हजुरआमा अनि हजुरबुबाका आशिष ‘आयुद्रोण सुते..’ लाई सिद्ध पार्न आफैँ जयन्ती मंगलाकाली भद्रकाली बनेर सबैलाई जीवनको टिका लगाइरहेकी छु
आफ्नै जीवन दाउमा राखी अर्को जीवन बचाइरहेछु
यसको निधार यति सानो छ, कस्तो भाग्य हुने हो भन्नुहुन्थ्यो त हजुरबुबा
यति ठुलो भाग्य , मेरो जस्तो सानो निधार भएकीको पनि हुने रै'छ त
मृत्युसँँग जीवन साट्ने घर मै नवदुर्गा जन्मेकी रै'छे त
त्यसैले मेरो सुर्ता नगरी,
हजुरहरु त्यहाँ सुरक्षित भई, भिडभाड नगरी टिका मनाउनु होला
आफन्त बोलाउने, आफ्ना लाग्ने काम यस पटक नगरिदिए ठिक सम्झिनुहोला
सामाजिक दूरी कायम गरी मास्क स्यानिटाइजरको पनि उचित प्रयोग गरिदिनुहोला
चाडबाड भन्ने आउँदै जाँदै गर्छन् ,
जाडोपछि गर्मी ,मौसम फेरिँदै गर्छन्
दसैँ रोग नबोस् कसैको, एउटाले बिराए मेटिन सक्छ अस्तित्व सबैको
जहाँ हुनुहुन्छ ,त्यही बसी मनाऔं पर्व, नखाऔँ धेरै जाड त्यसै
स्वथ्य खाऔं स्वस्थ्य रहौं
दशा नबनोस् यसपाली चाड दसैं
दशा नबनोस् यसपाली चाड दसैं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।