काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री र विदेशी गुप्तचरबीचको भेटलाई 'शिष्टाचार भेट' भन्नु अकूटनीतिक र हास्यास्पद भएको टिप्पणी गरेका छन्। बुधबार प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई प्रधानमन्त्रीको सचिवालयले शिष्टाचार भेट भनेको थियो। थापाले त्यसलाई खण्डन गरेका हुन्।
'लडाइँको समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको वा राजनीतिक नेतृत्वको भेटलाई जायज वा सामान्य मान्न सकिन्न। परराष्ट्र मन्त्रालय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो', थापाले आफ्नो ट्विटमा राखेको नोटमा भनेका छन्, 'प्रधानमन्त्रीको यस्तो गैर-राजनीतिक र विशुद्ध गुप्तचरसँग भएको 'शिष्टाचर भेट' माथि अनुसन्धान हुनुपर्छ। यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ।
थापाले नेपाल भारत सम्बन्धको पछिल्लो समस्या र जटिलतातको समाधान उच्च स्तरको राजनीतिक तहबाट मात्र सम्भव भएको उल्लेख गरेका छन्। 'भारतको राजनीतिक तहलाई वार्ता र छलफलमा ल्याउने जिम्मेवारी प्रधानमन्त्री र सरकारको हो। सबै राजनीतिक तथा कुटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसँगको भेटघाटबाट नेपाल-भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मुर्खता हो', उनको भनाइ छ।
प्रधानमन्त्रीले कहिले वेप्रसङ्ग, केवल आन्तरिक खपतका लागि, राम जन्मभूमिको कुरा निकालेर दुईपक्षीय सम्बन्धलाई झन् जटिल बनाउनतिर लाग्ने, अनि कहिले लत्रक्क परेर गुप्तचरसँग भेट्ने प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण उत्ताउलो व्यवहारमा आफ्नो प्रश्न रहेको थापाको भनाइ छ। ' प्रधानमन्त्रीको यस्तो अप्रत्यासित व्यवहार आन्तरिक राजनीतिमा हामीले भोगेकै हौं। तर अन्तर्राष्ट्रिय सम्बन्धमा समेत यस्तो व्यवहार हुँदा हामी गम्भीर हुनै पर्छ', उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।