काठमाडौं–मंगलबार रातिबाट सुरु भएको च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार सुरुवात गरेको छ। बार्सिलोनाले हंगेरीको फेरेन्सबारोसीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो।
समूह ‘जी’ मा रहेको बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी, अंशु फाती, फिलिपे कौटिन्हो, पेड्री र ओस्माने डेम्बेलेले गोल गरे। यता, फेरेन्सबारोसीका लागि आइहोर खराटिनले गोल गरे।
खेलको २७ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै कप्तान मेस्सीले बार्सिलोनालाई १–० गोलको अग्रता दिलाए। योसँगै मेस्सीले च्याम्पियन्स लिगमा ११६ गोल पुर्याए। खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफसम्म २–० गोलको अग्रत दिलाए। खेलको ५२ औं मिनेटमा फिलिपेले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको अग्रता दिलाए।
तर खेलको ६८ औं मिनेटमा बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा झरेको थियो। पिकेले फेरेन्सबारोसीका टोकम्याकलाई डिबक्सभित्र फोउल गरेका थिए। फोउलसँगै पेनाल्टी पाएको फेरेन्सबारोसीका लागि खराटिनले गोल गर्दै ३–१ गोलको स्थितिमा पुर्याए।
खेलको ८२ औ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ४–१ गोलको अग्रता दिलाए। अधिकांश बल आफ्नो नियन्त्रणमा राखेको बार्सिलोना १० खेलाडीमा झरे पनि दबाबमा भने खेलेन। खेलको ८९ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ५–१ गोलको फराकिलो जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।