काठमाडौं- कवि असीम सागरको कविताकृति ‘क’ सार्वजनिक भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रम बिनै पुस्तक आइतबार बजारमा ल्याइएको जानकारी प्रकाशक फाइनप्रिन्टले दिएको छ।
असीम सागर साधारण नेपाली जनताका कवि रहेको पत्रकार एवम् कवि रूपेश श्रेष्ठले बताए। उनका कविताले सडकका नागरिकको कथा भन्ने उनको भनाइ छ। ‘देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ। असीम सागरको कवितासंग्रह ‘क’ मा भोगेर लेखेका कविता छन्,’ उनले भने, ‘सरल भाषामा यति ओजपूर्ण कविता लेख्न सकिन्छ, त्यो पनि सुन्दर कविता लेख्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।’
पछिल्लो समय आइरहेका कवितासङ्ग्रहमा ‘क’ फरक किसिमको लागेको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए। सरल एवम् सरस किसिमका कविता लेख्ने सागरको यो कृतिमा सामान्यभन्दा सामान्य जनका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति एवं विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको उनको भनाइ छ। यति ओजपूर्ण कृति प्रकाशन गर्न पाउनु आफूहरुका लागि खुसीको विषय रहेको उनले बताए।
जीवनमा आइपरेका घटना र विभिन्न अनुभवबाट निःसृत भावलाई नै कविताका रुपमा प्रस्तुत गरेको र यो पुस्तक जन्मिएको लेखक असीम सागरले बताए। उनले भने, ‘जीवन बाँच्दै जाँदा कैयौं पटक चोइटिएको छु। भाँच्चिएको छु। दुखेको छु,’ उनले भने, ‘तिनै दुखाइ र असन्तुष्टि नै मेरा कविताका अंश हुन्। जसलाई मैले आफ्नै आँसुको मसीले लेखेको छु।’
जून पोखिएको रात र अस्तित्वका आवाजहरु (गजल सङ्ग्रह) प्रकाशन गरिसकेका उनले खडानन्द मनमाया स्मृति पुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भावतरङ्ग साहित्य सम्मान (सिक्किम), बसिबियाँलो साहित्य सम्मान (कालेबुङ) जस्ता पुरस्कार एवम् सम्मान पाएका छन्। उनी राष्ट्रिय कविता प्रतियोगिताका विजेतासमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।