मानिसको मोल कौडीझैँ भैरहँदा
तिमीले गर्नैपर्ने काम पनि गर भनेर
कहिले पानीको फोहोराबीच
तातो रगत सडकमा जाग्नुपर्ने
त कहिले बुढो शरीर
अनेकौं पटक आमरण अनसन बस्नुपर्ने l
प्रत्येक सासको लागि छटपटाएका व्यक्तिको परिवारलाई
तिमी कसरी मल्हम लगाउँछौ सरकार?
पूरै परिवार सोत्तर भएको रित्तो घरलाई
तिमी के जवाफ दिन्छौं?
अनि रोग र भोकसंगै थलिएर
सडक पेटीमा जीवन मरणको संघर्षमा रहेकालाई
के भनेर सम्बोधन गर्छौ?
रोम जल्दा निरोले बाँसुरी बजाए झैं
आफ्नै कुरा दोहोराउने र मुन्टो हल्लाउनेको
कुहिरोमा रुमल्लिदा
एक दिन आउनेछ
जब बाँसुरीमा फुक्ने सासको लागि
तिमी आफैं तडपिनेछौ
कुहिरो फाट्दा तिमी एक्लै हुनेछौ
तर,
अहिलेको लागि तिमी सुत सरकार
मस्त निन्द्रामा सुत
हजारौं मानिसले बलिदान दिएको
तिमी टुप्पोमा बसेर
सुत्नकै लागि हो,
त्यसैले तिमी सुत सरकार
मस्त निन्द्रामा सुत l
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।