भित्री रूप नियाल प्रिय खोल ओडेर के नै पो हुन्छ र?
अघोरीपन जलाऊ प्रिय फुकेर हड्डी के नै पो हुन्छ र?
तिमीभित्रको साघुँरो ग़ल्लीमा लामो यात्रा गर्नु छ जिन्दगीको।
हिड्नेसम्म त बनाऊ प्रिय, लडेर मात्रै के नै पो हुन्छ र?
खुला आकाशमा सुन्दर सपना लिएर उड़नु छ मलाई।
म पखेटा फ़िज़ाउँछु प्रिय, साथ दिएर मात्रै के नै पो हुन्छ र?
आडम्बरकै बलियो परिभाषा दिँएर महाभारत नलेख तिमी।
पल्टाउन असमर्थ छु म, सजाएर दराज के नै पो हुन्छ र?
तिमी फट्किएर समुद्र तर्छौ होला, मलाई ख़ोल्सी ननाघ भन्छौ।
प्रतिस्पर्धामा उत्रेर त हेरौं, भएर जितहार के नै पो हुन्छ र?
तिम्रो नाम मेरो काम तराजुमा जोखिहेर्दा भारी त मैपट्टि पर्यो।
मै माथि भन्दै अहंकार छर्छौ, नापेर उचाइ के नै पो हुन्छ र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।