काठमाडौं- नेपाली इतिहास, संस्कृति एवं पुरातत्वका चिरपरिचित अध्येता डा गोविन्द टण्डनको 'इतिहासका थप पृष्ठहरू' बजारमा आएको छ। ऐतिहासिक एवं पुरातात्विक स्थल, लिच्छविकालिक समाज एवं इतिहासका विविध पक्ष, मठ-मन्दिर, सम्पदा, गुठी व्यवस्था, धर्म,संस्कृति, इतिहास, सांस्कृतिक सम्पदा संरक्षण-सम्वर्द्धन लगायत केही इतिहास पुरुषबारे पुस्तकमा चर्चा गरिएको छ।
पहिले प्रकाशित एवं अप्रकाशित गरी झण्डै ६७ वटा विभिन्न शीर्षकका लेखहरूको सङ्ग्रह भएको यस पुस्तकमा मालिगाउँमा विस २०४९ मा पाइएको संवत् १०७ को जयवर्माको मूर्तिको विषयमा स्वदेशी विदेशी विभिन्न विद्वानहरूको आ-आफ्ना धारणा रहेको सन्दर्भमा प्रचलित धारणाभन्दा फरक दृष्टिकोणले पुस्तकमा अध्ययन गरिएको छ।
जयवर्माको मूर्ति अरू विद्वान्हरूले भने जस्तो पहिलो-दोस्रो शताब्दीको नभई यो मानदेव संवत् १०७ को हो, जुन विस ७४० को हुन्छ भनी विल्कुलै नयाँ धारणा प्रस्तुत गरिएको छ। 'यसले नेपालको इतिहास, संस्कृति एवं पुरातत्वको क्षेत्रमा अध्ययन गर्नेहरूलाई नयाँ दिशाबोध दिन सक्छ', पुस्तकको प्रकाशक साङ्ग्रिला बुक्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
शिलालेख एवं वंशावलीहरूमा कतै उल्लेख नपाइने लिच्छवी राजा अमरदेवको बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ। 'इतिहासको कुनै कालखण्डको लागि एउटा इँटामा पाइएको नामै पनि कति काम लाग्ने रहेछ भन्ने कुरा 'राज्ञोमरदेवस्य' अंकित इँटाले देखाएको बारे जान्न सकिन्छ', विज्ञप्तिमा भनिएको छ, 'रानीपोखरीलाई आहिले मात्र होइन आजभन्दा झण्डै चार दशक अघिदेखि नै कसरी अतिक्रमण गरेर व्यापारिक ठाउँ बनाउन सकिन्छ, त्यस बेला मानिसहरू लागेका थिए। त्यसो हुनु हुँदैन भनी रानीपोखरीको महत्त्वलाई उजागर गरी ३८ वर्षअघि लेखिएको 'रानीपोखरी: यसको ऐतिहासिकता र संरक्षण' लेख अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ।'


रानीपोखरीको पानीको स्रोतको रूपमा रहेको संवत् ४५ (विस ६७९) को विभु वर्माले निर्माण गरिदिएको ढुंगेधारा पुरेर रत्नपार्कमा भूमिगत मार्ग बनेको कुरादेखि लिएर दरबार स्कूलको उत्तरपट्टिको झङ्गथकुहिटी कसरी पुरियो, भोटाहिटी नामको ढुंगेधारा कसरी विलुप्त बन्यो आदि विषयमा पनि पुस्तकमा उल्लेख गरिएकोले इतिहास, संस्कृतिका पारखीहरूका लागि चाख लाग्दो हुन सक्ने प्रकाशकको भनाइ छ।
इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्तको मन्तव्य रहेको यो पुस्तकमा भनिएको छ- 'प्रामाणिक सामाग्रीको आधारमा विश्लेषणात्मक ढंगले प्रकाश पार्ने शैली डा गोविन्द टण्डनका लेख एवं पुस्तकहरूमा पाइने एक किसिमको विशेषता नै हो भने हुन्छ। यही शैलीको प्रयोग यस पुस्तकमा पनि भलीभाँती भएको छ।'
अध्येता टन्डनको 'नेपालमा गुठी व्यवस्था' पुस्तक पनि यसअघि साङ्ग्रिला बुक्सबाटै प्रकाशित छ।
'इतिहासका थप पृष्ठहरु' पुस्तकमा ५७२ पृष्ठ रहेको छ र यसको मूल्य ९७५ राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।