काठमाडौं- रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक 'क्रान्ति र प्रतिक्रान्ति' बजारमा आएको छ। पुस्तकमा बिपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठी लगायत अन्य हस्तलिखित दस्तावेजहरु समेत समावेश छन्।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका पाण्डेले पुस्तकमा ०७ सालको प्रजातन्त्रको लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक-सामरिक कारण र आउन सक्ने परिणाम समेतलाई उल्लेख गर्दै इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविस्यका बारेमा विस्तारमा चर्चा गरेका छन्।
पुस्तकका सन्दर्भमा लेखक पाण्डेको भनाइ छ- '२००७ सालको परिवर्तनलाई आख्यानको रुपमा सुनेका अथवा इतिहासमा पढेका, २०४७ सालको परिवर्तनलाई केही सुनेर र केही भोगेर बुझेका अनि २०६३ को परिवर्तनमा आफैं संलग्न भएर सञ्चय गरेका सपना भंगको पीडा र दूरदृष्टि पूरा गर्ने संकल्प लिएका युवा वर्गका लागि क्रान्ति र प्रतिक्रान्ति रुचीकर र उपयोगी हुने आशा गरेको छु।'
सुन्दरीजल सैनिक जेलबाट बिपीले आफूलाई लेखेका चिठीहरु कालजयी भएको पाण्डेको भनाइ छ। 'पाठकलाई राजनीतिक, धार्मिक, सांस्कृतिक र व्यावहारिक रुपमा विचारोत्तेजक खुराक दिने केही चिठीहरु प्रासंगिकता अनुसार प्रस्तुत पुस्तकमा समावेश गरिएका छन्, बाँकी पछि आउने पुस्तकमा समावेश हुने छन्।'
लेखकको यसअघि प्रकाशित पुस्तक 'कूटनीति र राजनीति' चर्चित भएको थियो। उक्त पुस्तकको छैटौं संस्करण पनि 'क्रान्ति र प्रतिक्रान्ति' सँगै बजारमा उपलब्ध हुने प्रकाशक साङ्ग्रिला बुक्सको भनाइ छ।
पुस्तक ५५६ पृष्ठको रहेको छ र यसको मूल्य रु. ७९५ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।