काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जाने सोच बनाएको आरोप लगाएका छन्। सोमबार साँझ ट्विट गर्दै नेता पौडेलले डा गोविन्द केसीका अनसन सुरु भएको २२ दिन बित्दा पनि कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
उनले डा केसीका माग पनि पूरा नगरी मर्न बाध्य बनाउन लागेको समेत आरोप लगाएका छन्। 'म फेरि सोध्छु, कम्युनिष्ट सरकारसँग। के डा. गोविन्द केसीले पनि गोरखाका नन्दप्रसादकै नियति भोग्नु पर्ने हो?,' उनको प्रश्न छ।
आफ्ना छोराका हत्यारालाई कारबाहीको माग गर्दै गोर्खा फुजेलका नन्दप्रसाद अधिकारीको अनसनका क्रममा नै मृत्यु भएको थियो। उनको शव अझसम्म पनि परिवारले बुझ्न मानेको छैन।
सत्याग्रहीलाई मार्दै जाने सरकारलाई जनताले के सजाय दिने भनी पनि नेता पौडेलले प्रश्न गरेका छन्। 'सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने हो? के नेपालमा कम्युनिष्टका सबै खत माफ हुने! आखिर कहिले सम्म?,' नेता पौडेलको आक्रोश ट्विटमा पोखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।