काठमाडौं– प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने सरकारको निर्णयमा जनता समाजवादी पार्टीले समर्थन जनाएको छ। तर, नाममा भने जसपाले फरक मत राख्ने निर्णय गरेको छ।
जसपाको सांसद विजय यादवले जारी प्रदेश सभामा बोल्दै प्रदेश सरकारले दाङमा स्थायी राजधानी राख्ने निर्णय गरेको प्रति जसपाले समर्थन गर्ने निर्णय गरेको बताए। उनले भने, ‘यो स्थायी राजधानी दाङ राख्ने सरकारको निर्णयको हामीले स्वागत गरेका छौं। उपयुक्त छनोट हो।'
तर प्रदेशको नामाकरण जुन पेश गरिएको छ, त्यसलाई भने फेर्नुपर्ने मत जसपाले राखेको छ।
संघीयता पहिचानका मुद्दा उठाएर गरिएको आन्दोलनबाट आएको बताउँदै यसको नाम त्यही पहिचान झल्किने राख्नुपर्ने जसपाको धारणा रहेको उनले बताए। जसपाले प्रदेश ५ को नाम थरुहट–मगरात–अवध राख्नुपर्ने सो पार्टीले माग गरेको छ ।
यसैगरी प्रदेश ५ को सीमांकन समेत जटिल भएको भन्दै संघीय सरकारसँग सल्लाह गरेर फेर्नुपर्ने धारणा जसपाको रहेको सांसद यादवले बताएका छन्। उनले भने, ‘यसको भौगोलिक अवस्था जटिल छ। मिलेको छैन। संघीय सरकारसँग सल्लाह गरेर हेरफेर हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।