काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठकमा नाराबाजी गरी अवरोध गरेपछि मुख्यमन्त्री शंकर पोखरेलको कांग्रेससँग वार्ता सुरु भएको छ। कांग्रेस र मुख्यमन्त्रीबीच भर्खरै वार्ता सुरु भएको प्रदेश सांसद इन्द्रजित थारूले जानकारी दिएका हुन्।
प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई तोकिएपछि प्रमुख प्रतिपक्ष कांग्रेसले प्रदेशसभा बैठक अवरोध गरेको थियो।
सत्तारुढ नेकपाका रुपन्देही नवलपरासी लगायत क्षेत्रका सांसद असन्तुष्ट भएपनि दलले ह्विप लगाएकाले चुपचाप छन्। तर, काग्रेसले त्यही विषयलाई मुद्दा बनाएर प्रदेशसभा बैठक अवरोध गरी भालुवाङलाई राजधानी बनाउने एकतर्फी प्रस्ताव फिर्ता गर्न माग गरेको छ।
कांग्रेसले प्रदेशसभा बैठक जारी रहेकै अवस्थामा नाराबाजी गरेपछि सभामुख पूर्ण घर्तीले २ बजेका लागि बैठक स्थगित गरेका छन्। बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता वीरेन्द्र कनौडियाले आफ्नो पार्टीको धारणा राखेका थिए। यसपछि सभामुख घर्तीले बैठक अगाडि बढाउन लागेपछि कांग्रेसले नाराबाजी गर्दै सभामुखको वेल घेराउ गरेका थिए।
केहीबेर काग्रेसले नाराबाजी गरेर सभा चल्न नदिएपछि सभामुखले २ बजेका लागि स्थगित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।