काठमाडौं- गृहमन्त्री रामबहादुर थापा 'बादल'ले बाढीपहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन्। अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उनले बताएका हुन्।
सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनु अगाडि नै पालमा बसेका नागरिकहरुको व्यवस्थापन गरिने उल्लेख गरेका हुन्।
‘चिसो बढ्दै जाने समय छ। हिउँद सुरु हुन्छ। अहिले बाढीपहिरो प्रभावितहरु पालमा बसेका छन् चिसोमा त्यसले धान्दैन। यसका लागि तत्काल चाल्नुपर्ने स्टेप (कदम) चाल्छौँ। सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइको व्यवस्था गर्छौँ । हिउँदमा चिसोले मानविय क्षति नहोस भनेर हामीले ध्यान दिएका छौँ,’ मन्त्री थापाले भने।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३ सय ५१ बस्ती जोखिममा रहेको बताएका छन्। यो वर्ष मानविय र भौतिक क्षति भएका समेत गरी ३ सय ५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनले भनाइ थियो। जिल्लाका १८ वटा बस्तीहरु अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा सुरु हुनुअघि नै सार्नुपर्ने अवस्था रहेको जानकारी उनले दिए।
यो वर्षको असार २४ गतेबाट भदौ २७ सम्म १ सय १३ जना गरी विगत पाँच वर्षमा सुन्धुपाल्चोकमा प्राकृतिक विपदबाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ। १७ सय ७० जना घाइते भएका छन् भने ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ।
गत असार २४ गते बाह्रबिसे नगरपालिका-५ जबमु र खागदमा गएको पहिरोमा परी २१ जना, साउन २० गते जुगल-२ लिदीमा गएको पहिरोमा परी ३९ जना र बाह्रबिसे-७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।