काठमाडौं- प्रदेश ५ को राजधानी र नामको प्रस्ताव सहजै पारित हुने भएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सुविधाजनक दुईतिहाइ मत रहेकाले पारित हुने भएको हो।
प्रदेश ५ को संसदमा दाङको भालुवाङ राजधानीको केन्द्र र प्रदेश नाम लुम्बिनी राख्ने गरी प्रस्ताव पेश भइसकेको छ। शुक्रबार बसेको संसद सभामा कानुनमन्त्री कुलप्रसाद केसीले राजधानी र केन्द्र प्रस्ताव गरेका थिए।
प्रदेश ५ मा कुल प्रदेशसभा सदस्य ८७ जना रहेका छन्। सत्तारुढ दलको मात्रै ६१ सांसद छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १९ जना, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।
प्रस्ताव पारित हुनलाई दुई तिहाई अर्थात् ५८ सांसद आवश्यक पर्दछ। नेकपा एक्लैको ६१ सांसद भएकाले पारित हुनलाई सहज छ। असोज १९ मा बस्ने प्रदेश सभामा प्रदेश र नाम विषयमा छलफल सुरु हुनेछ।
संसदमा दर्ता भएका प्रस्ताव फिर्ता गर्न १८ घण्टामा समयावधि उपलब्ध गराउने संसदको प्रक्रिया हुन्छ। पार्टी केन्द्रले दाङको भालुवाङ र प्रदेश नाममा लुम्बिनी हुने गरी तल्लो कमिटीलाई निर्देशन दिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।