काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारमा संलग्नलाई कानुनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन्।
संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारबाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधीलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका हुन्।
घटनामा संलग्नलाई कानूनी कठ्घरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले व्यक्त गरे। थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपीलाई कानूनी दायरामा ल्याउन सरकारले कडा कदम चालेको पनि दावी गरे। सम्झानाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई प्रहरीले पक्राउ गरेको पनि उहाँले जानकारी दिए।
मन्त्री थापाले बलात्कारका घटना रोक्न अधिकतम प्रयत्न भएपनि पछिल्लो समय हरेक दिन ६/७ जना बलात्कृत हुने गरेको तथ्याङ्क रहेको बताए। पछिल्लो समय बालिका र महिलामाथि हुने बलात्कारका घटना बढेकाले कानुलाई अझ कडाइ गर्नुपर्ने आवाज उठिरहेको बेला गृहमन्त्री थापाले घटना रोक्न निष्ठापूर्वक प्रयत्न भइरहेको बताए। ‘झन्डै ६–७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन्’ थापाले भने‚ ‘यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं। कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ। हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ।’




बैठकमा नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा क्षत्रीले निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्नेगरी काम भइरहेको बताए। घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको उनले समितिमा जानकारी गराए। निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा पनि खटिएको उनले बताए। पन्तको घटनापछि प्रहरीको छविमा नै धब्बा लागेको भन्दै उनले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्नेमा आफुहरु सचेत रहेको बताए।
‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रुपमा अनुसन्धान भइरहेको छ। प्रधान कार्यालयबाट नै हामीले अनुसन्धानका लागि अधिकृत पठाएका छौं’ थापाले भने‚ ‘घटनाको अहिले रिभ्यू गरिरहेको अवस्थामा छौं।’ अनुसन्धानलाई छिट्टै टुंगोमा पुर्याउने गरी काम भइरहेको उनले समितिमा जानकारी दिए। ‘निर्मला प्रकरणले नेपाल प्रहरीको इमेजको गतिमा योगदान भन्ने कि के भन्ने जुन गरेको थियो त्यो धब्बा थियो’ थापाले भने‚ ‘यो घटनामा हामीले पनि पार लगाउन नसके सदाका लागि धब्बा हुनेछ भन्नेमा सचेत रहेका छौं। छिटो निष्कर्षमा पुग्नेगरी काम गरिरहेका छौं।’
बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको उनले बताए। बोहराले गत साउनमा पनि बलात्कार गरेको घटना बाहिर आएकाले अहिले दुईवटा बलात्कार र एउटा कर्तव्य ज्यान अभियोगमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको उनले बताए। पहिलेको मिलापत्रमा गरेकालाई पनि प्रतिवादी बनाउने गरी मुद्धामा लैजाने तयारी गरेका उनले बताए।
मिलापत्रमा पीडितको दाजु पनि बसेको हुनाले अहिलेको अवस्थामा जाहेरवाला हुने र पछि प्रतिवादीको रुपमा लैजाने गरी अगाडी बढ्ने उनले बताए। सप्तरीको घटनामा पनि पञ्चायती गरेर पीडितलाई सजाय गरेको अवस्था रहेको देखिएको छ। त्यो पीडता सहन नसकेर उसले आत्महत्या गरेको भन्ने प्रहरी अनुसन्धानले देखाएको बताए।
समाजले फौजदारी अभियोगमा मिलपत्र गर्ने पराम्पराले यस्ता घटनाहरुलाई मलजल गरेको बुझाइ प्रहरीको रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।