काठमाडौं–खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको छ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी ३ लाख रुपैयाँ रहेको छ। दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमका दिन अर्पण गरिँदै आएकोमा यसपटक विषम परिस्थितिका कारण यसैवर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठाका जीवा लामिछानेले जनाएका छन्।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यका वर्षभरि प्रकाशितमध्ये उत्कृष्ट ठहर भएका पुस्तकलाई प्रत्येकवर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। पद्मश्री साधना सम्मान भने साहित्य, कला, संगीत, अभिनयलगायतका क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई २०६७ देखि प्रदान गरिँदै आएको हो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।