विश्वका धेरै देशहरु कोरोनासँग लडिरहेका छन्। कति देशहरुले कोरोनालाई नियन्त्रणमा लिइसकेका पनि छन्। नेपाल पनि करिब ६ महिनादेखि बन्दाबन्दीमा बितेको छ। यो बीचमा लकडाउन खोलिएको पनि थियो तर बीचमा फेरि थपिएको पनि जगजाहेर नै छ।
सरकारले दिनदिनै परीक्षण क्षमता बढाएको बढाएकै भनेर दाबी गरिरहेको छ। तर परीक्षण भने बढ्न सकेको छैन। देशभरको तथ्यांकसँग तुलना गर्ने हो भने घना आवादी क्षेत्र काठमाडौं उपत्यकामा ५० प्रतिशतभन्दा बढी संक्रमित देखिन थालेका छन्। तर सरकारले परीक्षणको दायरा भने खुम्च्याएको खुम्च्याएकै छ।
अर्कोतिर पच्चीस हजार सक्रिय कोरोना संक्रमित पुगे भने पुन: बन्दाबन्दी गर्न सरकारले सिफारिस पनि गरेको छ। यो बीचमा नेपाली जनतामा निक्कै नै उतार-चढ़ाव आइरहेका छन्, मानिसका समस्याहरु दिन प्रतिदिन बढिरहेका छन्, धेरै मानिसहरु घरवारविहीन भएका छन्। मान्छेहरु रोगले भन्दा भोकले मरिरहेका छन्। आत्महत्या दर निकै बढिरहेको छ। कति व्यापार व्यवसाय सदाको लागि बन्द भैसके। कति व्यवसाय बन्द हुने अवस्थामा छन्। रोज़गारी भएका मानिसहरु बेरोजगार भएका छन्।
मानिसहरुका सपनाहरु चकनाचुर भएका छन्। शहरदेखी गाउँसम्म मानिसहरु तनावले मानसिक रोगी बन्ने क्रम तिव्र गतिमा बढिरहेको छ। तर जनताले पाँच वर्षको लागि अत्यधिक बहुमतले जिताएको स्थिर र शक्तिशाली सरकार जनसेवामा भने देखिएको छैन। भोट लिन फकाइतुल्याइमा उतिबेला पोख्त सरकार यतिबेला भने नागरिकका दुःखमाथि दुःख वर्षाउन जतिबेला पनि तम्तयार छ। वर्षाइरहेको पनि छ।
यति धेरै विश्वासप्राप्त सरकारलाई नागरिकका सास्तीले कति पनि पिरोलेको छैन, कुनै तदारुकता देखिन्न। सरकारका केही मानिस कतै रूमलिएपनि यत्रो ठूलो पार्टीका कोही त नेता हुनुपर्ने नि सरकारलाई ट्र्याकमा ल्याउन। तर अहँ केही देखिएको छैन।
यत्रतत्र सर्वत्र मपाईतन्त्र, ठालुतन्त्र, आफन्ततन्त्र मात्र। यी तन्त्रहरु लोकतन्त्र र गणतन्त्रका मूल्यवान बृहत् शब्द भएका छन्।
नागरिकका सास्ती टुलुटुलु हेरे बस्न सक्ने सरकार कहाँ रुमलिएको छ? कहाँ अलझिएको छ? किन दोधारमा छ? किन आम नागरिक लागि सरकार भएको आभाष दिन सकेको छैन? केन्द्रदेखि स्थानीय सरकारको तालमेल गज्जबको छ। केन्द्रले गरेन हामी किन गर्ने? प्रदेशले गरेन हामी किन गर्ने? यत्रतत्र सर्वत्र मपाईतन्त्र, ठालुतन्त्र, आफन्ततन्त्र मात्र। यी तन्त्रहरु लोकतन्त्र र गणतन्त्रका मूल्यवान बृहत् शब्द भएका छन्।
सर्वसाधारण नागरिकलाई लाग्दैन, देशमा सरकार छ, दुःख पर्दा अभिभावक छ। तर सरकारका लागि मात्र सरकार छ। मन्त्री र मन्त्रीहरूका अघिपछि लागेर हिन्ने, सामाजिक सञ्जालमा अरिंगाल बनेर पार्टीका नेताको समर्थन गर्दै विरोधीको खैरो खन्नेलाई बचेखुचेको सरकार छ। सरकार किन छ? कस्का लागि छ? नागरिकाका लागि सरकार कहाँ छ? कस्तो छ? अत्तोपत्तो छैन।
यो लोकतन्त्र र गणतन्त्रपछिको सरकार मात्र होइन। योभन्दा पहिलेका शासन र तन्त्रमा पनि सर्वसाधारणको लागि सरकारको आभास थिएन। नेपालमा महामारी सुरु भइसकेपछि सरकारको क्रियाकलाप सम्झिने हो भने काण्डैकाण्ड मात्र छन्।
सरकारले कोरोनाको यो महामारीका बेला समृद्धिको गफ चुट्ने बेला होइन, पहिला भोका नागरिकको पेट भर्ने बेला हो।
यो सरकारलाई जनताको चिन्ता कहिले पनि भएन। अर्काको पार्टी कसरी फुटाउने, कुर्सी कसरी बचाउने, पद कसरी बचाउने, आफ्ना मान्छेलाई ठेक्का कसरी दिने, आफ्नालाई कसरी उच्च ओहोदामा पुर्याउने, विभिन्न भ्रष्टाचारमा मुछिएकालाई कसरी उन्मुक्ति दिने, हारेका हरुवालाई कसरी नेतृत्व तहमा ल्याउने जस्ता कुरा मात्र सरकारको प्राथमिकतामा परे तर यही देशका नागरिक कोरोनाले भन्दा भोकले मर्न थाले को यो देशका निति निर्माता र शासकहरुले देखेनन्।
तामझामसहित टुँडिखेलमा संविधान मनाउँदै गर्दा त्यही छेउको पुरानो बसपार्कमा एक छाक खान नपाएका मानिसहरुलाई खाना वितरण हुँदै थियो। त्यो पनि कुनै सरकारी पक्षले होइन, विभिन्न सामाजिक संघसंस्था र सामाजिक अभियन्ताहरूले के त्यो दृश्यले हामी त सरकार जनताको प्रतिनिधि हो, नागरिकको अभिभावक हो भन्ने मनमा आएन होला? सामाजिक सञ्जालका ती हृदयविदारक तस्बिरले थिएन होला?
यही अवधिमा सरकारको नेतृत्व गरिरहेको नेकपाको बैठक कैयौँ पटक बस्यो तर ती बैठकमा एक प्रतिशत पनि कोरोना नियन्त्रणको कुरा उठेन। जनताको स्वास्थ्य अवस्थाको कुरा उठेन। देश कुन अवस्था मा छ त्योबारेमा कुरा उठेन। विदेशमा नेपालीले कति दुःख पाएका छन् ती कुराले पनि ठाउँ पाएनन्। केवल गुट उपगुटका कुरा, पदका कुरा, सत्ताका कुरा, स्वार्थका कुरा, तेरो र मेरो मान्छे भन्ने कुराले मात्र स्थान पाए।
देशका प्रधानमन्त्रीले कुन दिन जनताको दुःख र पीडाको बारेमा बोल्नुभयो? कुन दिन अग्रपंक्तिमा कोरोनासँग लड्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग भेट्नु भयो? कुन अस्पतालको कुन कोरोना संक्रमितसँग भेटनु भयो? वार्तालाप गर्नु भयो? प्रधानमन्त्री मातहतका कुन मन्त्रीले आफ्नो कार्यक्षेत्रको स्वतःस्फुर्त मन्त्रीको आभाष दिने खालको के काम गर्नु भयो?
स्वास्थ्यमन्त्रीको त कुरा गरेर साध्य नै छैन। कोरोना परीक्षण गर्न चाहने मानिस झरीमा रुझेर लाइनमा कोच्चिएर पालो पर्खिरहेका छन्। विदेशबाट फर्किनेहरू महँगो हवाईभाडा तिर्न बाध्य छन्। किसानले मल नपाएर छट्पटाइरहेका छन् कसैले माने पनि नमाने पनि यो सरकार अवसरवादी हो।
सरकारले कोरोनाको यो महामारीका बेला समृद्धिको गफ चुट्ने बेला होइन, पहिला भोका नागरिकको पेट भर्ने बेला हो। सरकार सरकार जस्तो हुनुपर्यो।जनभावनाको क़दर गर्ने आँट गर्नुपर्यो। किन यति शक्तिशाली सरकार अलोकप्रिय भइरहेको छ भनेर ध्यान दिनु पर्यो।
कुलमान घिसिङ, डा. गोविन्द केसीसँग नेकपाका एकपाखे समर्थक किन डराउने! राम्रो काम गर्ने हो भने भोलि नै तमाम समर्थक तपाईंहरू (सरकारको) जयजयकार गर्न माइतीघर मण्डलामा भेला हुन्छन्। सामाजिक सञ्जालभर दुई तिहाई सरकारको प्रशंसा मात्र हुन्छ। तर बिडम्बना त्यो सरकार खोई?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।