चितवन- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकार हचुवाको भरमा चलेको आरोप लगाएका छन्।
रत्ननगरमा आज आयोजित नेपाल दुरसञ्चार कर्मचारी संघको आठौं केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। अहिलेको सरकार राष्ट्रिय एजेण्डाबाट विमुख रहेको उनको भनाइ थियो।
'सरकारले केन्द्रीय र प्रदेशसभाको निर्वाचन मंसिर १० गते तोक्यो,' उनले भने, 'एकै चरणमा निर्वाचन हुने भयो भनेर हामीले पनि स्वागत गर्यौं तर फेरि सरकारले हचुवाकै भरमा मंसिर २१ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेर केटाकेटीपन देखाएको छ।' पटकपटक मिति सार्ने सरकारको कार्यशैलीले निर्वाचन हुने या नहुने आशंका पैदा भएको नेपालले बताए।
नेता नेपालले नेपाल टेलिकमलाई राजनीतिबाट मुक्त राख्नुपर्ने समेत बताएका छन्। कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले भने, 'राजनीति छाडेर संस्थाको कार्यशैलीलाई प्रभावकारी, प्रतिस्पर्धामुखी बनाउनतिर लाग्नुस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।