काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन्। आइतबार पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरूसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनीतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधीन बनाउन सक्ने दावी गरे। पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए।
राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोसायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागिहरुलाई विश्वास दिलाए। पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने थापाले बताए।
गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना संकट, पार्टी एकता र भावी कार्ययोजनाबारे पछिल्लो समय प्रविधीको सदुपयोग गर्दै निरन्तर बैठक गरिरहेका छन्। जनवर्गीय संगठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्नेगरी सांगठनिक गतिविधीलाई तिव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए। बैठकमा २१ जनवर्गीय संगठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।