काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार काठमाडौं र जनकपुरबाट १५ किलो सुनसहित सात जनालाई पक्राउ गरेपछि सुन तस्कर सक्रिय भएको तथ्य बाहिर आएको छ । ब्युरोले गत वर्ष पुस २० गते हवाई मार्ग हुँदै दुबईबाट भित्रिएको साढे ३३ किलो सुन बरामद गरेयता छिटफुट बाहेक ठूलो परिमाणमा बुधबार सुन बरामद भएको हो।
ब्युरोको टोलीले बुधबार काठमाडौं टोखास्थित पेम्बादोर्जे शेर्पाको डेरामा छापा मारेर १४ किलो सुन बरामद गरेको हो । उनकै सूचनाका आधारमा जनकपुरको रामानन्द चोकबाट भारत लैजाने तयारीमा रहेको थप एक किलो सुनसहित चार जना पक्राउ परेका हुन् । कन्टेनर व्यवसायी समेत रहेका पेम्बा आफ्नै सवारीसाधनको प्रयोग गरी लामो समयदेखि तस्करीमा संलग्न रहेको ब्युरोको अनुसन्धानमा देखिएको छ ।
ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीका अनुसार, बुधबार बरामद भएको सुन रसुवाको केरुङ र तातोपानी नाकाबाट भित्रिएको हो । सुन अवैध रुपमा भारत लगिँदै थियो।
ब्युरोले काठमाडौं टोखा नगरपालिका–११ सामाखुसी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २६ वर्षीय पेम्बादोर्जे शेर्पा, भक्तपुर सूर्यविनायक नगरपालिका–७ का ३८ वर्षीय दीपेन्द्र थापा, ३४ वर्षीय राजेन्द्र खत्री, ३४ वर्षीय रविन खत्री, काठमाडौं महानगरपालिका–१० वानेश्वर बस्ने ३९ वर्षीय सरोज थापा, काभ्रे पाँचखाल नगरपालिका–१ बस्ने ३८ वर्षीय विष्णु गौतम र धनुषा जनकपुर उपमहानगरपालिका–७ का ३८ वर्षीय दीपककुमार शाहलाई पक्राउ गरेको हो।
सुन तस्करीमा प्रयोग भएको गाडी। (फाइल फोटो)
सुन तस्करीको ‘मोडस अपरेन्डी’
नेपालमा सुन भित्रने दुई मुख्य ठाउँ अन्तर्राष्ट्रिय विमानस्थल र रसुवा तथा तातोपानी नाका हुन् । अनुसन्धान अधिकारीका अनुसार, हुण्डी मार्फत र बोकेरै विदेशी मुद्रा खाडी र चीन पुर्यापउने एउटा गिरोह सक्रिय छ । यस्तै, अवैध सुन खरिद गर्न बजारमा रहेको विदेशी मुद्रा (अमेरिकन डलर, युरो र खाडी देशको मुद्रा) सेटिङमा रहेका सटही काउन्टर र रेमिट्यान्स कम्पनी मार्फत जम्मा गर्ने अर्को गिरोह छ । यसरी जम्मा भएको रकम बाहेक भारतबाट समेत डलर र भारतीय मुद्रा नेपाल आउँछ।
विदेशी मुद्रा जम्मा गर्ने र विदेश लैजाने गिरोहले निश्चित व्यक्तिको निर्देशनमा काम गरिरहेको हुन्छ । यस्तै, विदेशमा सुन खरिद गरी नेपाल भित्र्याउन अर्को गिरोह सक्रिय हुन्छ । तस्कर समूहले प्रत्येक पटक अलग–अलग व्यक्तिलाई सुन बोकाएर नेपाल पठाउँछन् । यसरी नेपाल भित्रिएको सुन तस्करले बनाएका अखडा (डेराको कोठा, रेष्टुरेन्ट र लज) मा जम्मा हुन्छ । एक वा दुई दिन सुन थन्किएपछि मौका हेरेर सुन मुख्य व्यक्तिसम्म पुग्ने गर्छ । यसपछि पहिले नै बुकिङ गर्ने ग्राहकलाई प्राथमिकतामा राख्दै अर्को भरिया समूहमार्फत भारतसम्म सुन पुग्ने गरेको अनुसन्धानमा देखिएको छ।
तस्करीको तथ्य
प्रहरीका अनुसार, २०७१ को अन्त्यसम्म प्रहरीका युनिटले पटक–पटक बरामद गर्दै आएको अवैध सुनको तस्करी एकाएक रोकिएको थियो । भूकम्पले तातोपानी नाका अवरुद्ध गरेसँगै सुनको तस्करी रोकिएको अनुमान गरियो । करिब दुई वर्षसम्म सुन बरामद भएन । दुई वर्षमा सुन तस्करी भएन वा प्रहरी निस्क्रिय बन्यो ?
प्रहरीले २०७३ पुस २१ मा ठूलो परिमाणमा सुन बरामद गर्नुअघि पुस १४ मा अपराध महाशाखाले रसुवा भएर आएको सात किलो सुन बरामद गरेको थियो । सेनासहित चारै सुरक्षा अंग रहेको केरुङ नाकाबाट सुन भित्रनुअघि मंसिर १८ मा बौद्ध प्रहरीले सोही क्षेत्रबाट आएको १० किलो सुन बरामद गरेको थियो । बौद्ध प्रहरीले मंसिर १२ मा पनि सिन्धुपाल्चोक गुम्बा–३ का २३ वर्षीय विकास तामाङलाई १ किलो सुनसहित पक्राउ गरेको थियो।
केन्द्रीय अनुसन्धान ब्युरोले २०७० असार २६ गते ३५ किलो सुनसहित ग्याम्जो लामा, मोहनकुमार अग्रवाल र नाङ्गेल भन्ने ओमबहादुर बज्राचार्यलाई पक्राउ गरेको थियो । ब्युरोका अनुसन्धानमा बरामद ३५ किलोग्राम सुन ग्याम्जो लामाले मगाएको खुलेको थियो । अग्रवालले भारत लैजाने तथा बज्राचार्यले तस्करीका लागि आफ्नो सवारीसाधन उपलब्ध गराएका थिए । यस्तै, २०७० जेठ २ मा ब्युरोकै टोलीले १६ किलो सुनसहित सानु शेर्पा, नाम्गेल शेर्पा, ज्ञाने शेर्पा, सोनम शेर्पा र गाम्पो भोटियालाई पक्रेको हो।
प्रहरीको ब्युरो, महानगरीय अपराध महाशाखा र तीन वटै परिसरले २०६९ देखि २०७२ सम्म एक महिनाको अन्तरालमा अवैध सुन र तस्करहरु पक्राउ गर्दै आएका थिए । भूकम्पपछि तातोपानी नाका बन्द भएयता हङकङबाट सुन हवाई मार्ग हुँदै आउने गरेको अनुमान गरिए पनि गत पुसमा दुबईबाट सुन आउने गरेको तथ्य भेटिएको थियो।
ट्रान्जिट नेपाल टु इन्डिया
नेपाल भित्रने अवैध सुनमध्ये ७५ प्रतिशत खपत भारतमा हुने गरेको छ । यस आर्थिक वर्षमा साढे ६१ किलो सुन बरामद भएको छ।
सुन तस्करीको अनुसन्धान दोस्रो तहमा पुर्याएको प्रहरीले नेपाली संलग्न समूहको व्यवस्थापनमा अवैध सुन हवाई र स्थल मार्ग भएर नेपालमा थुप्रिने र भारत पुग्ने गरेको पत्ता लगाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले गत वर्ष प्रमाणका आधारमा नियन्त्रणमा लिएका विमानस्थल भन्सारका दुई कर्मचारी र सुनसहित पक्राउ परेका तीन जनाको सम्पर्क सूत्रका आधारमा भारतमा नोटबन्दीयता सुन तस्करी बढेको देखिएको छ।
भारतमा नोटबन्दीपछि कालोधन सुनको रुपमा राख्नेको संख्या बढेको आशंका प्रहरीले गरेको छ । ब्युरो प्रमुख डिआइजी कार्कीले नेपाल भित्रने सुनका मुख्य ग्राहक भारतीय रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।