• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
मध्य जीवन [कथा]
ममता पन्त मिश्र शनिबार, भदौ २०, २०७७  १४:२६
1140x725

केही त छ उसमा, पक्कै छ। नभए यसरी किन आकर्षित हुन्थें म? न चिन्नु न भेट्नु, त्यै पनि आजकाल प्रायः उसैलाई सोचेर बस्ने भाएको छु। वर्षौ भइसकेको थियो लगाम लगाएको घोडा झैं एकोहोरिएको। अचानक मन फेरि कलिलो भइरहेछ। म चुरोटको धुवाँ हावामा उडाउँदै आँखामा आएको उसको तस्बिरसँग खेल्छु। उसको नाम सुप्रिया। राम्री छ उ, अहिलेको उमेरमा पनि आकर्षक। 

चुरोटको ठूटोलाई त्यही टेबलमा राखेको एस्ट्रेमा किच्दै पर क्षितिज नियाल्छु। देख्छु, डाँडा पछाडिको घाम विस्तारै माथि उठ्दैछ। सधैं उराठ लाग्ने त्यो डाँडो आज मनमोहक लाग्छ। बेवास्तामा परेका चराचुरंगीका चिरबिर आवाज मिठासका साथ कानमा गुन्जिन्छन्। अनि लाग्छ, दुनिया त्यति निरस पनि छैन, जति हामी सोच्छौं। 

केही वर्षयता म ‘चेन स्मोकर’ भाएको छु। आनन्द लाग्ने भएको छ चूरोटको धुवाँबीच जिन्दगीलाई उडाउन। एउटा चुरोट ठोसेर अर्को चुरोट के सल्काउँदै थिएँ, रमिता एक बाटा धोएका चिसा लुगाहरू मेरो अघि राखी भन्छे, ‘फोक्सोमात्रै कति जलाएर बस्छौ, सुकाऊ यो लुगा। बिहानदेखि यत्तिकै हो। चुरोट ठोसेको छ बसेको छ, बस् त्यति हो। यसो छोरोको होमवर्कमात्र हेर्दे पनि त अलिकति सजिलो हुन्थ्यो। म एक्लैले कता कतामात्रै भ्याउने?’

आजकाल रमितासँग दोहाेरो कुरा गर्नै मन लाग्दैन। कुराको केही फाइदा छैन। कुरा सुरु भयो भने बहसमा परिणत हुन्छ। औचित्यहीन बहसको के फाइदा? अनि सधैं निर्णय उसकै पक्षमा हुनुपर्ने, यस्तो न्यायको के काम?

‘हुन्छ। त्यहीँ छोड। अहिले सुकाउँला,’ यति भन्दै म चुरोट सल्काउँछु। 

पहिले त उसलाई खुसी पार्न जे गर्न पनि मन लाग्थ्यो। तर आजकाल खै किन हो उसलाई मन नपर्ने काम गर्न मलाई झन् मन लाग्छ। उसलाई चुरोट तानेको मन पर्दैन। म झन् बढ़ी चुरोट तान्छु। ऊ साथीभाइ भेट्दा अलि कम पिऊ भन्छे। मलाई साथीहरू भेट्दा नै बढी पिउन मन लाग्छ। उसले गरेका सही कुरा पनि मलाई सही भन्न मन लाग्दैन। कहिलेकाहीँ लाग्छ कतै म उसले भने झैं पुरानो विचारधाराको संकुचित लोग्ने मानिस त बन्दै गइरहेको छैन? जो हरेक कुरालाई आफ्नो अभिमानको तराजुमा जोख्छ? अनि कैले लाग्छ शायद रमिता नै बद्लिएर होला म पनि बद्लिएको।

‘अहिले सुकाउँला होइन। उठेर सुकाइ हाल। घाम गएपछि सुकाउनुको के अर्थ?’

‘कति कचकच गर्छौ यार बिहानै बिहानै। त्यस्तो हतार छ भने गर आफैं,’ म झोक्किएर त्यहाँबाट हिँड्छु।  

ऊ के-के भन्दै भट्भटाउँछे। म बेवास्ता गर्दै आफ्नो कोठा पसी ढोका बन्द गरी फोनमा फेसबुक चलाउँछु।  

प्रत्येकचोटी फेसबुक खोल्दा केही न केही नयाँ कुराहरू भइहाल्छ। आजकाल अरु कुरामा भन्दा पनि सुप्रियाप्रति बढ़ी इन्ट्रेस्ट जागेको छ।

ऊ मेरो फ्रेन्ड लिस्टमा छैन। उसका पोस्टहरू खै कसरी मेरोमा आइपुग्छन् त्यो पनि मलाई थाहा छैन तर उसका पोस्टहरू मलाई मन पर्छ।

उसको पोस्ट आउन ढिलो भएमा म बेलाबेलामा ऊसको प्रोफाइलमा पनि छान मार्छु। एकपटक उसको पोस्ट नहेरी चित्त नबुझे झैं हुन्छ। फेसबुको भित्ता खाली खाली लाग्छ। 

फेसबुक खोल्दा जब पहिलो पोस्ट नै उसको देख्छु, मन यसै तनावमुक्त हुन्छ। भरखरै नयाँ पोस्ट गरेकी रैछ, सधैं झै एउटा तस्बिरका साथ। यस्तै गर्छे ऊ। हरेक पोस्टमा एउटा मोहक तस्बिर जोडी एउटा सानो हरफमा जीवनका कथाहरूजस्ता, उदास मनका व्यथाजस्ता, खै कस्ता कस्ता भवानाहरू पोख्छे उ। म भावनामा नडुब्ने मान्छे पनि उसका भावनाहरूमा यसै अल्झिन्छु, नजानिकनै ऊतिर खिचिन्छु। 

उसका पोस्टसँग टाँसिने तस्बिरहरू उत्तेजना बढाउने या लालाहित बनाउने तस्बिर हैनन्। ती सरल तस्बिरहरू त सालिनताका नमूना हुन्। म गौण गरी हेर्छु उसको तस्बिर। हुन त कसैको तस्बिर सधैं गौण गरी हेर्दा हजार अर्थ लाग्न सक्ला। एकै कुराको हजार अर्थ लाउने त मानिसको आदतै हुन्छ। तर अरुको सोच र आदतमाथि मेरो कुनै रोक छैन। म त केबल उसको भावहरू ती तस्बिरमा खोज्छु, शायद। 

लाग्छ, उदासीपन लुकेका छन् ती आँखा भित्र। केही अधूरोपन, केही टूटेका अनि केही फूटेका मन लिएर बाँचेकी छ ऊ। उसको बारेमा जान्ने चहाना बढ्छ। उसलाई चिन्न मन लाग्छ। केही पल ऊसँग भुल्न मन लाग्छ। 

‘पा..प्पा’ भन्दै ढोकामा कराएउँदै रोएको ६ वर्षको छोरा निमितको आवाजले वास्तविकतामा धकेल्छ।

‘अले, के भो मेरो सानो मान्छेलाई? कल्ले के गर्‍यो?’ म उसलाई बोक्दै कोठामा लग्छु।

‘आई हेट मम्मा’ उ बलिन्द्र आँसु बगाउँदै रुन्छ। 

मनमनै म पनि भन्छु, मि टू। 

‘अनि के गरी मम्माले मेरो सानो मान्छेलाई?’ उसको गालामा म्वाईं खाँदै म सोध्छु।

‘आई हेट हर। सी अलवेज ईसक्रिमस एट मी,’ ऊ फेरि भ्याँ गर्दै रुन्छ। 

उसको बलिन्द्र आँसु पुछ्दै म मेरो मोबाइलमा उसलाई मन पर्ने कार्टून लगाएर दिन्छु।

‘यू आर द बेस्ट, भन्दै ऊ गालामा माया गरी दंग परेर आफ्नो मन पर्ने कार्टून हेर्नमा व्यस्त हुन्छ। म भने फेरि अघि फेसबुकमा हेरेको सुप्रियाको तस्बिर सम्झदै दलिन हेरी टोलाउँछु।

कहाँ थिई होला सुप्रिया यत्रो वर्षसम्म? अनि लाग्छ किन मैले आजभन्दा १६, १७ वर्ष अघि भेटिन उसलाई? मानिसहरू बेलाबेलामा इट्स ए इस्मल वर्ल्ड भन्छन्। त्यसो हुँदो हो त आजसम्म किन मेरो र सुप्रियाको चिनजान या भेटघाट भएन?

‘लुगा सुकाऊ है, मैले भन्द्याछ। भोलि अफिस जाने लुगा भएन भनेर फेरि मलाई रिस देखाउने हैन,’ रमिता फेरि उता भान्छाबाट कराउँछे।

उसको स्वरमा म झस्किन्छु। यसपटक केही नबोली निमितलाई पनि बाहिर लगी अघिको लुगा सुकाउँछु। 

वरिपरी नेपाली छिमेकी छन् अनि उनीहरूका नेपालबाट आएका बाउआमाका आँखा धेरैजसो हाम्रै घर गृहस्थीमा अल्झिए झैं लाग्छ।

लुगाको बाटामा रमिताका कट्टू र ब्रा, छोराका लुगाहरू अनि केही मेरा लुगा। रमिताको कट्टू उठाऊदै यसो दायाँ बायाँ टाउको घुमाउछु। स्वास्नीको कट्टू सुकाएर बस्छ भन्दै नेपालमा हल्ला पुर्‍याउलान् भन्ने डर पनि छ।

रमिता दुई कप चिया बाहिर बरन्डाको टेबलमा राख्दै त्यहीँ मेचमा बस्छे।

‘छिटो गर न। त्यति लुगा सुकाऊन पनि कति बेर लाग्ने। यहाँ चिया ल्याएको छु। चिसो हुन लागिसक्यो।‘

झनक्क रीस नउठेको हैन तर फेरि अर्को बहस खडा गरे चिया पनि खान पाइँदैन। त्यसैले चुपचाप लुगा सुकाएर चियाको कप उठाउँछु।

‘बस न। कस्तो एकछिन पनि सँगै बस्न नहुने झैं गर्छौ आजकाल,’ रमिता भन्छे। ‘के भा’छ तिमीलाई? यस्तो त थिएनौ।‘

म चुपचाप उसको अगाडि राखेको मेचमा बस्दै चियाको सुर्को लिन्छु। 

आजकाल रमिताको चियामा पनि केही दम लाग्दैन। स्वादविहीन लाग्छ चिया, चिनी हालेर पनि खल्लोजस्तो। खै कस्तो कस्तो। त्यही पनि चियाप्रेमी हुँ, पिइदिन्छु, स्वादै नलिई भनु या सन्तुष्टिबिना।

रमिता केही सोध्दिन फेरि। शायद प्रश्नको कुनै औचित्य छैन भन्ने सोच्दी हो उ पनि। उ चुपचाप चिया पिउँछे पर कतै हेरी टोलाएर। यसो कड्के आँखाले उसलाई हेर्छु। ऊ पनि रंग उडेको प्लास्टिकको फूल झैं लाग्छ आजकाल। उदासी र असन्तुष्ट आँखा। उजाडिएको अनुहार।

कन्चटमा टल्किएका केही सेता कपाल अनि खुम्चिएको निधारका डोराहरूले सधैं रीसमा या तनावमा रहे झैं देखिन्छे ऊ। तनावमै रहनपर्ने त केही देख्दिनँ म। सबै त छ हामीसँग, केवल सन्तुष्टि। सन्तुष्ट छैनौं हामी एक अर्कासँग। शायद समस्या यही हो। जब असन्तुष्टि बढ्दै जान्छ तब समस्या नै नहुनुपर्ने कुरा पनि समस्या बन्छ। एक अर्काको उपस्थितिमा बस्न उकुसमुकुस हुन्छ।

टेबलमा मेरो चुरोटको बट्टा र सलाई अनि एस्ट्रे यत्तिकै छ। रमिता आजकाल मेरो चुरोट र सलाई लुकाउँदिन। न त चुरोट नपिउ नै भन्छे। १६ वर्ष भयो बिहे भएको। पहिले फाट्ट फुट्ट उसको आँखा छलाएर पिउथें। बिस्तारै खुलेआम पिउन थाले अनि अहिले त चेन स्मोकर नै भएको छु।

पहिला उसले चुरोट तान्यो भनी कराउदा कन्ट्रोल गर्न खोजि भनेझैं लाग्थ्यो। अहिले उसले केही नभन्दा आफूलाई माया गर्न छोडी भनेझैं लाग्छ। हुन त त्यस्तो माया भनेर मर्ने खाले त म पनि हैन तर अंग्रेजीमा एटेन्सन सीकर भनेझैं उसको ध्यान सधैं आफूमा रहिरहोस् भन्ने चाहना भने पक्कै छ। 

चियाको अन्तिम घुड्को पिएर म फेरि सलाई र चुरोटको बट्टा आफूतिर तान्छु। उ वाक्क लागेको संकेत दिँदै दायाँ बायाँ टाउको हल्लाई निमित लिई भित्र जान्छे। 

चुरोटका धुवाँहरू वायुमण्डलमा जब उड्दै अनि मडारिँदै विलीन हुन्छ, त्यो धुवाँ र मेरो मस्तिष्क बिचको शुन्यतामा म रमाउछु। आजकाल रमिता रिसाउली भन्ने मलाई केही चिन्ता लाग्दैन। चिसीइरहेको हाम्रो सम्बन्ध झन् झन चिसो हुँदै गएको महसुश त छ तर यो सम्बन्धमा फेरि राग भर्ने कुनै चाहना बन्दैन। कैलेकाहीँ परवाह गर्न मन लाग्छ तर लापरवाह भइदिन्छु। 

जुलाई अगस्टको मध्य जाडो छ। रमिता र म सँगै एउटै बिछ्यौनामा सुत्दा पनि न मन तात्छ न त तन नै। निन्द्रा पटक्कै लाग्दैन। म फेरि फोक्सो जलाउन सुत्ने कोठा बाहिरको सानो बार्दलीमा निस्कन्छु। जाडोयामको चिसो सिरेटोमा चूरोटको सर्कोसँगै फेसबुकमा रहेको सुप्रियाको फोटो हेर्दा शायद केही राहत मिल्छ। उसको फोटो हेर्दा हेर्दै, उसका पोस्टहरू पढ्दा पढ्दै चुरोटको धुवाँसँगै मन पनि उडेर खै कहाँ गएछ कहाँ, म केही नसोची उसलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँछु। फ्रेन्ड रिक्वेस्ट गरिसकेपछि मन कस्तो कस्तो हुन्छ। ४० कटेसी रमाउँला भने झैं, म खै शायद आफैसँग रमाउछु। 

आश्चर्य लाग्छ त्यति राती उसले तुरुन्तै मेरो फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेको देख्दा। एक किसिमको खुसीले मनमा बेचैनी बढ्न थाल्छ। साँच्चै हो रहेछ तन बुडो भए पनि मन बुडो हुँदैन भनेको।

म फेसबुक मेसेन्जरबाट उसलाई मेसेज पठाउछु, ‘साथी बनिदिनु भएकोमा धन्यवाद। म तपाईंले फेसबुकमा राख्ने हरफहरू सधैं पढ्छु र सारै प्रभावित पनि छु। आफैं लेख्नुहुन्छ यी सबै? अनि तपाईंको लेखाइसँगै तपाईंका तस्बिरहरू पनि कस्तो पर्फेक्ट। म त तपाइको फ्यान नै भएको छु।‘  

केही समय कुर्छु तर जवाफ आउँदैन। भित्र कोठाबाट रमिता कराउँछे, ‘कति चिसोमा बसेको? सर्दी लाग्नलाई।‘ 

उ पनि सुतेकि रहिनछे, म कोठातिर लाग्छु।

यता मेरो फोनमा सुप्रियाको टिङ्ग जवाफ आउँछ। रमिता त्यहीँ भएकीले खोलेर हेर्न मन लाग्दैन। फेरि दुई तीन पटक टिंग टिंग मेसेज आउँछ। 

‘यति राति पनि को हो त्यस्तो मेसेज गर्ने? दिमाग नभएका मान्छेहरू!’ रमिता भुतभुताउँछे।

म केही नबोली फोनलाई साइलेन्टमा लगाएर बत्ति निभाउँछु। अन्धकार कोठामा बन्द आँखाभित्र बनेका हरेक बिम्बभित्र उसकै प्रतिबिम्ब आउँछ। रमिता यसो नजिकिन खोज्छे। चिसो रातमा शायद उ तातिन खोज्छे तर म तातिन सक्दिन। किन हो कुन्नी अचेल म उसको रापले राँकिन्न न त रन्किन्छु नै।

मेरो चिसो व्यवहारले पक्कै रीस उठ्यो होला उसलाई उ फरक्क अर्कोतिर फर्किएर मलाई नछोइकन, बिछ्यौनाको अर्को कुनामा सुत्छे। एकछिनमा उ घुरेको आवाज सुनेपछि म फोनमा सुप्रियाको मेसेज हेर्छु। 

‘धन्यवाद। खुसी लाग्यो मेरा लेखाइ मन पराइदिनु भएकोमा।’ 

‘तपाईंको लेखाइमा त जादु छ। तपाईं त निकै राम्रो लेखिका हुनुहुँदो रहेछ,’ म उसको व्यक्तिवलाई उकास्ने कोसिस गर्छु।

उ मजाले हाँसेको इमोजिको लाइन मेसेज गर्दै लेख्छे, ‘ही...ही। केको हुनु लेखिका! यत्तिकै टाइम पास।‘

‘हो र?’ म नपत्याए झैं गर्छु, अनि फेरि लेख्छु, ‘तपाईंका शब्दहरूजस्तै फोटोहरु पनि कति आकर्षक।‘

स्वास्नी मानिसहरू जुनसुकै उमेरका किन नहुन्, उनिहरु रूप र गुणको प्रशंसाका भोगी हुन्छन् भन्ने मलाई राम्रै ज्ञान छ।

ऊ दंग पर्दै फेरि मुस्काएको इमोजिसँगै धन्यवाद पठाउँछे।

अनि बिस्तारै बिस्तारै गाऊँ र घर, पढाइ र काम। विवाहित र बालबच्चा सबै कुराको आदान प्रदान हुन्छ। रातपछि दिन, हप्ता हुँदा हुँदै महिनौं बित्छ यस्तै कुराको आदान प्रदानमा। 

खासै कुरा केही हुँदैन। न त लामो कुरा नै हुन्छ। त्यही पनि दिनमा एकपटक हाइ हेलो नगरी चित्तै बुझ्दैन। एक किसिमको आत्मियता यसै बढ्दै गए झैं लागे पनि आजसम्म एक पटक पनि उसँग फोनमा कुरा भएको छैन‚ न त भेट नै। कैले कैले जिस्के झैं गरी भेट्ने संज्ञा दिन्छु, फोनमा कुरा गरूँ भन्छु तर उ यसै टारिदिन्छे। 

हामी दुवैको आफ्नै बेग्लै परिवार। अनि आफ्नै आफ्नै बाध्यता र बन्धन। उसले के सोच्छे कुन्नी तर म भने आफ्नो मन मनाउन सकिरहेकै छैन। खाली उसैसँग कुरा गरिरहुँ अनि उसैलाई भेट्न पाए, देख्न पाए हुन्थ्यो भने झैं लाग्छ।

उता रमितासँग आजकाल बिनाकारण कुरै हुँदैन। लाग्छ उसलाई पैसा र छोरा भए पुग्छ, मलाई चुरोट र फेसबुक। पहिले पहिले हामी माया र सदभावनाका साथ एक अर्काको बारेमा चासो राख्थ्यौं। ऊ, म अनि मेरो पैसामा हैकम जमाउथी। उसले हैकम जमाउँदा कैले खुसी लाग्थ्यो, कैले निहुँ खोज्न मन लाग्थ्यो। झगडा प्रायः सधैं पर्थ्यो।

मनमुटाव हुन्थ्यो। त्यही पनि माया थियो। कहिले उ रिसाउँथी, कहिले म। अनि रिसाउँदा कैले उ मनाउथी, कहिले म। तर आजकाल यी सबै चल्दैनन्। हामी एक अर्कामा हैकम जमाउँदैनौं। कसैले नमनाउँदै हामी आफूले आफुलाई मनाउँछौं। कैले काहीँ अचम्म लाग्छ कसरी हामीबीच यो दूरी बढ्यो भनेर। म बद्लिए वा ऊ बद्ली? या त हामी दुवै बद्लियौं? कहिले काहीँ आफूमा पनि दोष देख्छु।

बाल्यकालदेखि नै आफन्तहरूले ‘अफ्ठेरो खालको मान्छे’ भन्ने दर्जा दिएका छन्। अलि अप्ठ्यारै पनि छु झैं लाग्छ कहिले काहीँ। तर आफ्नो अहमले आफूलाई दोषी ठहरिन दिँदैन। त्यसैले उसलाई नै दोषी ठहर्‍याउँदा आत्म-सन्तुष्टिले गौरववान्वित हुन्छु।

ऊ आफैं कमाउछे, नौलो कुरा लाग्दैन। आजकाल सबै कमाउछन्। ऊ आत्मनिर्भर छे, आफू जत्तिकै। यो भावले बेला बेलामा सताउँछ। किन सताउँछ त्यो थाहा छैन तर सताउँछ। छोरा पनि ऊसँगै बढी रतिन्छ। आफू एक्लो महसुस हुन्छ। उसको आत्मनिर्भरताले मनमा ईर्ष्या जागेको हो या आफ्नो अहममा धक्का लागेको हो, बेला बेलामा यत्तिकै पनि ऊदेखि रिस उठ्छ। उसले महत्त्व दिएका कुराहरू महत्वहीन तुल्याई उसलाई महत्वहीन महसुश गराउँदा मनमा सन्तोष मिल्छ।

म यस्तै थिए या पछि यस्तो भएँ, थाहा छैन। तर आजकाल मेरो प्राथमिकता बद्लिएको छ। लाग्छ, यो एक बारको जीवन म भरपूर जिऊँ। जे गर्दा खुसी मिल्छ म त्यही गरूँ। 

सुप्रियासँगको चिनाजानीले मनमा रौनक बढेको छ। बल्ल बल्ल फोनमा दुई चार पटक त कुरा गरें तर यो कुरकानीलाई भेटघाटको तहमा पुर्‍याउन भने अझै कठीन भइरहेछ। उ हरेक पटक मेरो प्रस्तावलाई टार्छे। अनि म सोच्छु, स्वास्नी मानिस भनेको स्वस्नी मानिस नै हुन्, चाहे भर्खरको जवान होस् या अधबैंसे। यिनीहरू आफ्नो चाहनामाथि न त लगाम लगाउन सक्छन्, न त आँट नै गर्न सक्छन्। फेरि यसो सोच्छु, यसमा सुप्रियाको के गल्ती छ र? उसलाई उक्साउने त मै हुँ। 

धेरै पछि आखिरमा उसलाई मनाएरै छाडें। मर्दले चाहे के हुँदैन? 

हामी भेट्ने ठाउँ तय गर्छौं। उसका फेसबुकका फोटोहरुको कारणले म विश्वस्त थिएँ उसलाई चिन्छु भनी तर मेरो भने फेसबुकमा वर्षौ पुरानो फोटो रहेकाले शायद उसलाई चिन्न गारो हुनेछ। 

आज बिहानै रमिता छोरालाई चाँडै नै बिफोर स्कूल केयरमा छोडेर आउँछे। सधैं छोरालाई छोड्न म जान्थें तर आज उ गई। 

‘आज तिम्रो अफिस छुट्टी?’ म सोध्छु।

‘हो,’ ऊ यति भनी भान्छातिर जान्छे।

मैले आज छुट्टी लिएको रमितालाई थाहा छैन। रमिता घरमा देखेपछि म अब अफिस जान लागे झैं सधैंको समयमा घरबाट निस्कन पर्ने बाध्यता भयो।

दिऊँसो १२ बजेको भेटघाट छ। ३, ४ घण्टा समय कटाउनु छ। म उतै सहरतिर टहल्लिने विचार गरी जिन्स र टि-शर्टमा निस्किन्छु। ढोकामा रमिता छे, ऊ मलाई तलदेखि माथिसम्म हेर्छे। तर केही भन्दिन। म उम्किए भनी ढुक्क परी आफ्नो गन्तव्यतिर हानिन्छु। 

बल्ल बल्ल १२ बज्छ। पर्खाइको समय त्यसै पनि लामो। साढे बार, एक गर्दै दुई बजिसक्दा पनि ऊ आइन। मनमा नमज्जा लाग्छ। झुक्क्याइ? किन? यो उमेरमा पनि कसैले यस्तो व्यवहार गर्छ? म रीसले रन्थनिएर एक्लै खाना अर्डर गरी खानमात्र के लागेको थें, ऊ टुप्लुक्क आइपुग्छे र मेरो अगाडिको मेचमा बस्छे। म छक्क पर्छु, कसरी चिनी मलाई? तर यतिखेर उसले मलाई कसरी चिनि भनी सोच्नुभन्दा पनि ऊ आई भन्ने कुरा बढी महत्वपूर्ण लाग्छ। उसलाई देख्नेबित्तिकै रीस जम्मै हराउँछ। म खुसी हुन्छु र भन्छु, ‘निकै ढिलो गर्नुभो, त्यही पनि आउनुभयो, खुसी छु।‘

उ केही बोल्दिन। अलि संकोच मानेकी झैं लाग्छ। 

‘तपाई‌ले त मलाई गजबसँग चिन्नु भयो?’ म भन्छु।

ऊ मुस्काउँछे तर उसमा एक किसिमको छट्पटी देख्छु।  

‘के भो? तपाईं अलि हडबडाए झैं लाग्छ। के सबै ठीक त छ?’

ऊ मेरो पछाड़ी टवाल्ल परेर हेर्छे। म फर्केर हेर्छु। मुटु निस्किएर त्यही प्लेटमा खसे झैं हुन्छ। 

‘आई कान्ट बिलिभ दिस! डिसगस्टिंग!' यति भन्दै रमिता रिसाएर त्यहाँबाट हिँड्छे। सुप्रिया पनि हिँडी। म भने अलमल्ल अनि रनभुल्लमा पर्छु।

घर त जानु नै छ। रमितासँग पनि भिड्नु नै छ। धोका यता भयो अब उता के के हुने हो। अन्योलमा पर्छ मन। बेलुका राति घर जान्छु। कोही मरे झैं शून्य अनि अन्धकार छ घर। कोठामा पस्छु, रमिता छैन। छोराको कोठाको ढोका उघार्छु। उ त्यहीँ सुतेको रहेछ। 

भोलि बिहान बेडमा चिया पनि आउँदैन। उसको अत्तोपत्तो केही छैन। फेसुबक खोल्छु, सुप्रियाले पनि अनफ्रेण्ड गरिसकिछ। 

हप्तौं यसैगरी बित्छ। गल्तीको महसुस छ तर अहमले रमितासँग माफी माग्न दिँदैन। 

आज मेल बक्समा एउटा चिठी मेरो नाममा भेटछु। खोलेर हेर्छु, उसले सेपरेसनका लागि एप्लाई गरेकी रहिछ। छोरा सानो हुनाले उसको मनस्थितिमा नकारात्मक प्रभाव नपरोस् भनी एउटै धुरीमुनी तर अलग बस्ने निर्णयका साथै धेरै सर्तहरू लेखिएका रहेछन्। मन सनन्न हुन्छ।

रमितालाई जे गरे पनि, जति नै चित्त दुखाए पनि उसले मलाई छोड्दिन भन्ने कुरामा म विश्वस्त थिएँ। सधैं झै यसपालि पनि केही समयपछि ऊ आफैं ठीक हुन्छे भने झैं लाग्थ्यो तर सोचेजस्तो केही भएन। चिठीलाई त्यही टेबलमा फाली म चुरोट सल्काउँछु।

आज रमिता र छोरा दुवै घर आएनन्। आजकल उ पनि मन लागेको गर्दै हिड्छे। लाग्छ, अब भन्ने अनि सोध्ने अधिकार गुमाइसकें।

खाटमा उत्तानो परेर चुरोटको धुवाँमा फेरि जीवन नियाल्छु। सबै ठिकै रहेछ। सबै राम्रै रहेछ। तर जीवनको मध्यान्तरमा आएर यत्तिकै मनमा उत्पन्न भएको आँधीले आफ्नो वरिपरीको सबै खुसीहरू उडाइसक्दा पनि मलाई पत्तै भएन। चुरोटको धुवाँ र मनको आँधीबीच जीवन संकटमा परिसक्दा पनि अहमले झुक्न मान्दैन। अहंकारले आफूलाई गलत ठहराउँन दिँदैन। त्यसैले न त रमितासँग आफ्नो गल्तीको स्वीकार गर्छु न त डुब्न लागेको जीवनको कस्तीलाई किनारा नै लाउन खोज्छु। आँखा अगाडिको शून्यतामा म फेरि चुरोटको धुवाँहरूसँगै उड्दै अनि विलीन हुँदै जाँदा यो लाग्छ की मेरा खुसीहरू पनि यसरी नै विलीन हुँदैछन्। यो संकटको दलदलबाट शायद अब म निस्किन्न या त निस्कनै चाहन्न।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पश्चिमी युरोपमा गर्मीले जनजीवन प्रभावित
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (तस्बिरहरु)
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (तस्बिरहरु) बुधबार, असार २५, २०८२
द्वन्द्वपीडित, जनआन्दोलन र भूकम्पका घाइतेले अब निःशुल्क उपचार पाउने बुधबार, असार २५, २०८२
टेक्सास बाढी : केर काउन्टीमा अझै १६१ जना बेपत्ता बुधबार, असार २५, २०८२
अवैध हतियारसहित युवक पक्राउ बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्