काठमाडौं- नेकपा वरिष्ठ नेता झलनाथ खनालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय कार्यन्वयन हुनुपर्ने बताएका छन्।
फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिसकेकाले तत्काल कार्यन्वयन हुनुपर्ने बताए। ‘वामदेव कमरेडलाई राष्ट्रिय सभामा पठाउने निर्णय कुनै व्यक्ति विशेषले गरेको होइन। प्रधानमन्त्री जी समेत सहभागी भएको सचिवालय बैठकले निर्णय गरेको हो’ नेपाल लाइभसँग कुरा गर्दै खनालले भने, ‘अब प्रधानमन्त्रीजीले त्यो निर्णय कार्यन्वयन गरेर जानुको विकल्प छैन।’
पार्टी कमिटीको निर्णयभन्दा प्रधानमन्त्री माथि हुन नसक्ने भन्दै राष्ट्रिय सभामा गौतमलाई पठाउने निर्णय तत्काल कार्यन्वयन गर्ने पक्षमा ओली इतर नेताहरू लागेका छन्। तर, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने संकेत यसअघि नै एक टेलिभिजन अन्तर्वार्तामार्फत् खुलासा गरिसकेका छन्।
प्रधानमन्त्रीको रोजाइमा खतिवडा नै भएकाले गौतमले अवसर पाउने सम्भावना कम देखिएको छ। गौतमलाई फकाउन ओलीले श्रीमती तुलसा थापालाई मन्त्री बनाउने आश्वासन दिएका थिए। उनकै निवास भैंसेपाटी पुगेर ओलीलाई गौतम श्रीमती थापालाई मन्त्री बनाउने बताएका थिए।
अर्थमन्त्री खतिवडाको म्याद आगामी भदौ २० गते सकिँदैछ। गौतमलाई राष्ट्रिय सभामा पठाउन अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायत बहुमत सचिवालय सदस्य एक देखिएका छन्। खतिवडाको म्याद सकिनुभन्दा केही दिनअघि आफू राष्ट्रिय सभा जाने इच्छा यथावत रहेको बताएका छन्। विगत ६ महिनादेखि सेलाइसकेको विषयलाई गौतम आफैंले फेरि मिडियामार्फत् उठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।